
समाजवादीको नजरमा कांग्रेस-एमाले उस्तै

काठमाडौँ : जनता समाजवादी पार्टीले नेपाली कांग्रेस र एमाले उस्तै अवसरवादी पार्टी रहेको बताएको छ। जसपाको पहिलो सङ्घीय परिषद् बैठकमा सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रस्तुत गरेको प्रतिवेदनमा कांग्रेस–एमालेको नाम फरक भए पनि उस्तै पार्टी भएको उल्लेख छ।
एमाले बहुदलीय जनवादमार्फत नेपाली कांग्रेसजस्तै उदार संसदीय लोकतन्त्रवादी दलमा रूपान्तरण भएकाले कांग्रेस र कम्युनिस्टको ब्रान्ड बाहेक दुवै दलका नीतिमा भिन्नता पाउन गाह्रो हुने प्रतिवेदनमा उल्लेख छ।
कांग्रेसले अभ्यास गरेको नवउदारवाद अर्थनीतिभन्दा एमालेले तात्त्विक भिन्नता भएको अर्थनीति प्रस्तुत गर्न नसकेको प्रतिवेदनमा उल्लेख छ।
'सङ्घीयता, समावेशिता, प्रत्यक्ष, सहभागितामूलक लोकतन्त्र, समानुपातिकता, सकारात्मक विभेद, सामाजिक न्याय, सीमान्तकृत समुदायको आरक्षण, उत्पीडित राष्ट्रियताहरूको पहिचान, अधिकार र मुक्तिको प्रश्नमा दुवै दल उत्तिकै अनुदार देखिन्छन्,' प्रतिवेदनमा उल्लेख छ।
'माओवादीलाई यी दुई दलभन्दा अलि उदार रहे पनि व्यवहार अवसरवादी देखिएको उल्लेख छ। उत्पीडित राष्ट्रियताहरूको पहिचान, अधिकार र मुक्तिको प्रश्न, शासकीय स्वरूप र निर्वाचन प्रणाली परिवर्तनको प्रश्नमा माओवादी कांग्रेस र एमालेभन्दा लचिलो र उदार छ तर, यी सवालमा पनि माओवादी केन्द्रले अवसरवादी नीति अख्तियार गर्ने गरेको छ,' प्रतिवेदनमा भनिएको छ।
नेकपा हुँदा माओवादी केन्द्र पनि एमालेजस्तै भएको भन्दै भट्टराइको प्रतिवेदनमा एमालेसँगको एकता विघटनपछि माओवादी झनै अनुदार, सङ्कीर्ण, शास्त्रीय र अवसरवादी वामपन्थी समूहका रूपमा देखिएको उल्लेख छ।
एकीकृत समाजवादीको विचार, सिद्धान्त र एजेन्डा एमाले र माओवादी केन्द्रभन्दा के फरक छ भन्ने अझै प्रस्ट नभएको प्रतिवेदनमा छ। एकीकृत समाजवादीले कस्तो नीति लिन्छ त्यसका आधारमा विश्लेषण गर्न सकिने प्रतिवेदनमा भनिएको छ।
फागुन २८, २०७८ शनिबार १५:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।