रसुवागढीबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण बढ्ने

रसुवागढीबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण बढ्ने

काठमाडौंः रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण बढ्ने भएको छ। रसुवा र केरूङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच भएको ‘भर्चुअल’ वार्तामा आयात परिमाण बढाउने सहमति भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ।

कोभिड–१९ सङ्क्रमणका कारण घटदै आएको आयात वृद्धि गराई नेपाली बजारको माग पूरा गराउन रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले पहल गरेका थिए। अब हाल नौ कन्टेनरमार्फत भइरहेको आयातलाई वृद्धि गरी यही १५ तारेखबाट दैनिक १४ वटा कन्टेनर रसुवागढी ल्याउने सहमति भएको उनले बताए।

कोरोना सङ्क्रमणपश्चात् सीमाक्षेत्रको मितेरी पुलमा आवतजावत बन्द भए पनि  चिनियाँ पक्षले माग पूर्ति गर्न दैनिक तीन वटा ठूला कन्टेनरबाट आयात सुरू गरेको थियो। अहिले दैनिक १४ वटा ठूला चिनियाँ कन्टेनरमार्फत व्यवसायी सामग्रीसहित रसुवागढी आउन थालेपछि यताका २८ वटा नेपाली कन्टेनरले दैनिक रोजगारी पाउने आशा पलाएको व्यवसायीले बताएका छन्।

पहिलो चरणको कोरोना मन्थर भएपश्चात् पहिलो चरणमा तीन, ६ हुँदै नौ वटा कन्टेनरद्वारा सामग्री आयात भइरहेको थियो।

फागुन २८, २०७८ शनिबार १३:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।