सिसडोलमा अवरोध आज पनि जारी, काठमाडौंको फोहोर बिसर्जन हुन सकेन

सिसडोलमा अवरोध आज पनि जारी, काठमाडौंको फोहोर बिसर्जन हुन सकेन

काठमाडौंः नुवाकोटको सिसडोलमा बिसर्जन गरिँदै आएको काठमाडौं उपत्यकाको फोहोर बिसर्जन हुन सकेको छैन। आफूहरूको माग पूरा नभएको भन्दै स्थानीयले अवरोध जारी राख्दा फोहोर बिसर्जन हुन नसकेको हो।

पछिल्लो मन्त्रिपरिषद् बैठकले नुवाकोटमा पर्ने सिसडोल र धादिङसँग सीमा जोडिएको क्षेत्र बञ्चरेडाँडाको ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनको क्रममा उत्पन्न हुने प्रभाव न्यूनीकरण गर्न उच्चस्तरीय समिति बनाउने निर्णय गरे पनि हालसम्म यसको सम्बोधन नभएको भन्दै अवरोध गरिएको सरोकार समितिले जनाएको छ।

फागुन २३ गतेदेखि सुरु भएको विरोधको कारण आज पनि काठमाडौंबाट फोहोर आउन नदिइएको ‘बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्र सरोकार समिति’का सञ्योजक श्रीराम ढुङ्गानाले बताए। स्थानीयले प्रभावित क्षेत्रको गुठीको जग्गा कानूनी प्रक्रियाअनुसार रैकर गर्नुपर्ने, प्रभावित क्षेत्रको उच्च प्रभावित बनेका बस्ती स्थानान्तरण गर्नुपर्ने, फोहोर बिसर्जन गर्न जाने सडकको स्तरोन्नति हुनुपर्ने र फोहोर बिसर्जन वैज्ञानिक रूपमा गर्नुपर्ने माग छ।

प्रभावित क्षेत्रका बासिन्दाले नुवाकोट र धादिङमा पर्ने विभिन्न गाउँ (यसअघिका विभिन्न अध्ययन प्रतिवेदनले मानव बसोबासको लागि जोखिम भनेको स्थान) का बस्ती स्थानन्तरण र उक्त क्षेत्रको करिब तीन हजार रोपनी जग्गा अधिग्रहण हुनुपर्ने माग मुख्यरूपमा उठाएका छन्।

फागुन २८, २०७८ शनिबार १०:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।