आफ्नो मिसाइल पाकिस्तान पुगेपछि भारतले भन्यो- 'एक्सिडेन्टल फायरिङ'

आफ्नो मिसाइल पाकिस्तान पुगेपछि भारतले भन्यो- 'एक्सिडेन्टल फायरिङ'

एजेन्सीः पाकिस्तानी सेनाले बुधबार आफ्नो भूमिमा भारतीय क्षेप्यास्त्र (मिसाइल) खसेको दावी गरेको थियो। भारतले शुक्रबारसम्म दिउँसोसम्म पनि यो कुरालाई स्वीकार गरेको थिएन।

यद्यपि, शुक्रबार साँझ भने भारतको रक्षा मन्त्रालयले ९ मार्चमा भारतीय मिसाइल पाकिस्तानको भूमिमा १२४ किलोमिटरभित्र खसेको स्वीकार गरेको छ। भारतले यस घटनालाई अञ्जानवश हुन पुगेको (एक्सिडेन्टल फायरिङ) भन्दै ढाकछोप गरेको छ। नियमित चेकजाँचका क्रममा प्राविधिक कारण यस्तो घटना हुन पुगेको भारतको स्पष्टिकरण छ।

यस्तै एक्सिडेन्टल फायरिङका कारण कुनै जनधनको क्षति नभएको पनि भारतको दावा छ। घटनाको अध्ययनका लागि उच्च तहको कोर्ट अफ इन्क्वायरी गठन गरिने पनि बताइएको छ।

भारतको हरियाणा राज्यको सिरसा शहर नजिकको ईलाकाबाट प्रक्षेपण गरिएको सो क्षेप्यास्त्र पाकिस्तानको पञ्जाब प्रान्तको मियाँ चान्नु शहर नजिकै पाकिस्तानी वायुसेनाले भेटाएको छ। पाकिस्तानी सेनाका प्रवक्ताले सो क्षेप्यास्त्र आफ्नो प्रारम्भिक मार्गबाट अचानक पाकिस्तानी क्षेत्रतर्फ उडेको र पाकिस्तानको एयर स्पेस उल्लङ्घन गरेको बताएका थिए।

फागुन २८, २०७८ शनिबार ०७:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।