
अफसोर कम्पनीमार्फत कोकाकोलाको सेयर विक्री गरेर सात अर्ब राजश्व छली, उच्चमा पुग्यो मुद्दा

काठमाडौँ : सेयर स्वामित्व किनवेचहुँदा पुँजीगत लाभकर छलेको आरोपमा कोकाकोलाको उत्पादक बोटलर्स नेपाल लिमिटेडविरुद्ध मुद्दा दायर भएको छ। राजश्व अनुसन्धान विभागले छली गरेको पुँजीगत लाभ र त्यसको ब्याज समेत जोडेर सात अर्ब ४३ करोड राजश्व छलेको भन्दै उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ।
बोटलर्स नेपालमा अधिकांश शेयर स्वामित्व रहेको दुबई स्थित कम्पनी कोका कोला साब्को एसियाको शत प्रतिशत शेयर २०७१ कात्तिक ७ मा कोका कोला साब्कोले आयरल्यान्ड स्थित युरोपियन रिफ्रेसमेन्टलाई विक्री गरे पनि सो बापत नेपालमा तिर्नुपर्ने पुँजीगत कर छली गरेका थिए।
कोकाकोला साब्को र युरोपियन रिफ्रेसमेन्टवीच शेयर कारोबार हुँदाको समयमा वोटलर्स नेपाल लिमिटेडको प्रतिकित्ता शेयरको स्वतन्त्र बजार मूल्य ३,८८३ हुने र सोमा कोकाकोला साब्कोको प्रतिकित्ता शेयर खरिद मूल्य ५३६ लाई लागतको रूपमा घटाउँदा हुन आउने रकम ३,३४७ प्रतिकित्ता पुँजीगत लाभ हुने अनुसन्धानबाट पुष्टि भएको विभागको दाबी छ।
सोही आधारमा कोकाकोला साब्को एसियाको बोटलर्स नेपालमा रहेको शेयर सङ्ख्या १४८४३०१को बिक्री बापत जम्मा ४ अर्ब ९६ करोड,७९ लाख पुँजीगत लाभ कायम भएकोमा आयकर ऐन अनुसार लाग्ने कर र जरिवानाहरू समेत जोडेर उसले ३ अर्ब ७१ करोड ८१ लाख राजस्व चुहावट भएको अनुसन्धानबाट पुष्टि भएको दाबी गरेको छ।
विभागका अनुसार बोटलर्स नेपाल लिमिटेडको शेयर स्वामित्वमा परिवर्तन भएको सम्बन्धमा उक्त कम्पनीले ठुला करदाता कार्यालय लगायत सम्बन्धित निकायहरूमा कुनै जानकारी नदिई तथा शेयर स्वामित्व परिवर्तन हुनु पूर्व तथा पछाडिको आयकर ऐन अनुसार आर्थिक वर्ष २०७१-०७२ को छुट्टाछुट्टै आय विवरण पेस नगरी तथा शेयर स्वामित्वमा परिवर्तन भएको कारणले सिर्जना हुने कर दायित्व पुरा नगरी राजस्व छलेको विभागको दाबी छ।
विभागले काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा रहेको बालाजु औद्योगिक क्षेत्र स्थित बोटलर्स नेपाल लिमिटेडसँगै कम्पनीको सञ्चालक समितिमा कम्पनीको शेयर होल्डर संयुक्त अरब ईमिरेट्सको दुबई स्थित कम्पनी कोकाकोला साउथवेष्ट होल्डिङ लिमिटेड साबिकको कोका कोला साब्को एसियाको तर्फबाट प्रतिनिधित्व गर्ने बोर्डका नौ जनालाई नै प्रतिवादी बनाएको छ।
विभागले कम्पनीको प्रबन्ध निर्देशक र आर्थिक कारोबार तथा लेखा परीक्षणको मुख्य जिम्मेवारीमा म्यानेजिङ डाइरेक्टर प्रदीप पाण्डे र पुनीत चन्द्रपालसहित विभिन्न पदमा रहेका राजीव टन्डन, भरतबाबु दाहाल, सुमति गोयल, अशोककुमार मण्डल, त्रिलोचन उप्रेती र चार्टर्ड एकाउन्टेन्ट सञ्जीवकुमार मिश्रलाई समेत प्रतिवादी बनाएको छ।
विभागले अफसोर कम्पनीबाट बोटलर्स नेपाल लिमिटेडको शेयर स्वामित्वमा भएको परिवर्तन अनुसार कर दायित्व बहन नगरी बोटलर्स नेपाल लिमिटेडबाट राजस्व चुहावटको कसुर गरेको पुष्टि भएको भन्दै बिगो रकम अर्ब ७१ करोड ८१ लाख असुल गरी बिगोको शत प्रतिशत जरिवाना ३ अर्ब ७१ करोड ८१ लाख गरेर सात अर्ब ४३ करोड, ६३ लाख असुल गरेर कैद सजायको माग समेत गरेको छ।
फागुन २७, २०७८ शुक्रबार १८:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।