पदमा रहुञ्जेल नेपाली जनताकाे शिर निहुरिने काम गर्दिन्ः मन्त्री आले

पदमा रहुञ्जेल नेपाली जनताकाे शिर निहुरिने काम गर्दिन्ः मन्त्री आले

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफु पदमा रहँदासम्म नेपाली जनताकाे जनताकै काम गरेर बस्ने बताएका छन्। नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको आज काठमाडौँमा आयोजित छैठौँ राष्ट्रिय सम्मेलनमा मन्त्री आलेले साे कुरा बताएका हुन्।

उनले आफूले गरेका कामबाट नेपाली नागरिकको शिर निहुरिन नदिने स्पष्ट गरे। उनले भने, “म जति समय पदमा रहन्छु, त्यति नै समय देश र नागरिकका हितका लागि नै काम गर्छु। देश र नागरिकभन्दा मेरा लागि ठूलो कुरा अरु केही छैन।”

मन्त्री आलेले दलित, जनजाती समुदायहरु विगतदेखि राज्यको उत्पीडनमा परेकाले यो समुदायको उत्थानका लागि आफू सधैँ कटिबद्ध रहेको बताए। “दलित समुदायले बनाएका औजारहरु प्रयोग गर्न मिल्ने तर उनीहरुसँग पानी नचल्ने जस्तो विभेद्को अन्त गर्नुपर्छ” उनले भने। समाजमा पिछडिएर रहेका दलित, जनजाति समुदायहरुका पक्षमा आफूले बिगतदेखि नै वकालत गर्दै आएको उनको भनाइ थियो।

दलित समुदायको बृत्ति विकास, हकहितका लागि आवश्यक बजेट व्यवस्थापनदेखि अन्य कुराहरुको सहयोगका लागि मन्त्रालय सधैँ सकारात्मक रही काम गर्ने उनले बताए। 

गरिबी, अशिक्षा तथा विकासको मूलधारबाट बाहिर परेकाले पश्चिमका दलित समुदायको अवस्था झन् दयनीय रहेको मन्त्री आलेको भनाइ थियो। उक्त कार्यक्रममा नेपाली साहित्यका माध्यमबाट जातीय विभेद तथा असमानताका बिरुद्ध काम गर्ने तीन जनालाई सम्मान प्रदान गरिएको थियो।

फागुन २७, २०७८ शुक्रबार १७:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।