सामाजिक उत्तरदायित्वको नाममा खुल्ला चौरको दुरुपयोग, ५४ हजार वर्ग फिटमा जम्मा ५० वटा रुख

काठमाडौँ : प्राकृतिक रूपमै मैदान बनाउन सकिने भए पनि एनसेलले लैनचौरमा रहेको ५४ हजार वर्ग फिटको सरकारी जग्गामा एस्ट्रोटर्फ विच्छ्याएर कृत्रिम मैदान बनाएको छ। एनसेल आजियाटा लिमिटेडले व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत लैनचौर मैदानको पुनर्निर्माण गर्दा वातावरण संरक्षणमा भन्दा पनि कृत्रिम सुन्दरतामा जोड दिएको हो।
हालै काठमाडौँ महानगरपालिका वडा नं. २६ लाई मैदान हस्तान्तरण गरेको एनसेलले सो क्षेत्रमा कृत्रिम चौर बनाउन लागेको खुलेपछि सामाजिक सञ्जालमा विरोध भएको थियो। तर उसले पानी रिचार्ज गर्ने सुविधा राखेको भन्दै प्राकृतिक मैदान नबनाई कृत्रिम मैदानै वडालाई हस्तान्तरण गर्योन। मैदानको अगाडि एनसेलकै कार्यालय रहेको छ।
एनसेलका अनुसार यो परियोजना वडा नं. २६ र स्थानीय समुदायको सहकार्यमा डिजाइन गरेर पुनर्निर्माण र स्तरोन्नति गरिएको दाबी गरिएको छ। उसले जारी गरेको विज्ञप्तिमा उल्लेख भए अनुसार ५४ हजार ९ सय २१ वर्ग फिट क्षेत्रमा हरियाली क्षेत्र बनाउन जम्मा ५० वटा रुख रोपिएको छ। मैदानमा ७ ‘ए’ साइजको मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, बालबालिकाको खेल्ने क्षेत्र बनाइएको उसले उल्लेख गरेको छ।
मैदानमा प्राकृतिक घाँसे मैदान नबनाई एस्ट्रोटर्फ बिच्छ्याएर मिनी फुटबल मैदान बनाइएको उसले स्वीकार गरेको छ। तर उसले वातावरणीय पक्षलाई ध्यानमा राखी आवश्यक सबै प्रक्रिया अपनाएर एस्ट्रोटर्फ लगाइएको दाबी गरेको छ।
'टर्नमुनि जमिनका चारैतिर ३ फिट व्यास र १० देखि १५ फिट गहिराइका १३ वटा इनार बनाइएका छन्। वर्षायाममा पानी रिचार्जका लागि सबै इनारमा जम्मा हुँदै बढी पानी मात्र मुख्य निकासमार्फत जाने व्यवस्था गरिएको छ । पानीको निकासका लागि पनि उचित व्यवस्था छ,' विज्ञप्तिमा उल्लेख छ।
प्राकृतिक मैदान नबनाई कृत्रिम मैदान बनाएको उसले मैदानको स्तरोन्नतिले वातावरणमा महत्त्वपूर्ण योगदान पुग्ने दाबी गरेको छ।एनसेलको सीएसआर अन्तर्गत मैदानको विकास तथा संरक्षणका लागि एनसेल र काठमाडौँ महानगरपालिका वडा नं. २६ बिच गत वर्ष सम्झौता भएको थियो।
उसले विज्ञप्तिमा कर्पोरेट नागरिकका रूपमा दिगो विकासका लक्ष्य (एसडीजी) अन्तर्गत शिक्षा र स्वास्थ्यका साथै वातावरण संरक्षण तथा जलवायुलाई प्राथमिकतामा राखेर सामाजिक कार्य गर्दै आएको दाबी गरेको छ।
औद्योगिक व्यवसाय नियमावली, २०७६ ले पनि व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत वातावरण संरक्षणलाई प्रमुख क्षेत्रको रूपमा राखेको उल्लेख गरेको उसले के कारण घाँसे मैदान छाडेर कृत्रिम मैदान बनाउनु परेको सो भने उल्लेख गरेको छैन।
फागुन २७, २०७८ शुक्रबार १४:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।