सुदूरका तीन पहाडी जिल्लामा निगमको जहाज चल्यो, यात्रुलाई सहज

सुदूरका तीन पहाडी जिल्लामा निगमको जहाज चल्यो, यात्रुलाई सहज

काठमाडौँ : सुदूरपश्चिमका पहाडी जिल्ला बझाङको चैनपुर, अछामको साँफे तथा डोटीको दिपायल विमनस्थलमा नेपाल वायुसेवा निगमको जहाज सञ्चालन भएपछि यात्रुलाई निकै सहज भएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ती जिल्लामा नेपाल वायुसेवाको जहाजमार्फत नियमित सेवा दिन निर्देशन दिएका थिए। अहिले ती जिल्लामा उडान हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण धनगढीस्थित गेटा विमानस्थलका प्रमुख रामकृष्ण भट्टले जानकारी दिए।

यात्रु अभाव तथा जहाजको कमी भएको भन्दै निगमले सुदूरपश्चिममा केही समय पहिलेदेखि आफ्नो उडान सेवा बन्द गरेपछि निजी क्षेत्रका केही कम्पनीले यात्रु सङ्ख्याका आधारमा कहिलेकाहीँ उडान भर्दै आएका थिए। 

सुदूरपश्चिमका पहाडी जिल्लामा कालोपत्र गरिएका विमानस्थलमध्ये बैतडीको पाटन विमानस्थलमा भने निगमले अहिलेसम्म पनि आफ्नो हवाइ उडान सेवा सञ्चालन गर्न सकेको छैन। नेपाल वायुसेवाले उडान गर्न नसकेका कारण उक्त विमानस्थलमा निजी क्षेत्रको हवाइ सेवा प्रदायक कम्पनी समिट एयरले उडान गर्ने गरेको बताइएको छ। 

सुदूरपश्चिमका पहाडी जिल्लामा नियमित जहाज सञ्चालनका लागि गृहकार्य सुरु भइरहेको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए। उनले भने, “हाललाई सुदूरपश्चिममा साप्ताहिकरुपमा जहाज सञ्चालनका लागि नेपालगञ्ज बस्ने गरी वायुसेवाको एउटा जहाज पठाइएको छ भने केही समयभित्र यात्रु सङ्ख्याका आधारमा नियमित उडान गर्ने गरी तयारी हुँदैछ।”

घर छेवैमा विमानस्थल भए पनि जहाज नआउँदा निकै दुखित भएका सुदूरपश्चिमका नागरिक अहिले नेपाल वायुसेवाले जहाज सञ्चालन गरेपछि यात्रा गर्नका लागि सहज भएको भन्दै निकै खुसी भएका छन्। 
 

फागुन २७, २०७८ शुक्रबार १३:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।