एमसीसी पास गरेपछि माओवादीप्रति जनताको भरोसा झनै बढ्योः अध्यक्ष प्रचण्ड

सुर्खेत : माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन सरकारले संसदबाट एमसीसी पास गरेपछि माओवादीप्रति जनताको भरोसा झनै बढेको बताएका छन्।
माओवादी कर्णाली प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सुर्खेत आइपुगेका अध्यक्ष प्रचण्डले देशको हरेक कठिन परिस्थितिमा पनि माओवादीले देशलाई सही गतीमा डोर्याउन निर्णायक भूमिका खेलेकोले जनतामा थप भरोसा बढेको बताएका हुन्।
गठबन्धन सरकारलाई ढालेर देशलाई खतरातर्फ लिने तत्वविरुद्ध अन्तिम चरणमा आएर माओवादीले महत्वपुर्ण भूमिका खेलेको बताउँदै एमसीसी पास गर्ने क्रममा राष्ट्र नै विभाजन हुनबाट बचाएको उनले दावी गरे ।
‘कठिन परिस्थितिमा देशभित्र हुने हरेक घटनाक्रममा माओवादीले निकासमा लैजान निर्णायक भूमिका निर्वाह गर्दै आएको छ। त्यसको पछिल्लो उदाहरण एमसीसी हो,’उनले भने, ‘गठबन्धन बचाइ राष्ट्र विभाजन हुन नदिन एमसीसीलाई पास गरेपछि माओवादीप्रति जनताको भरोसा झनै बढेको छ।’
व्याख्यात्मक घोषणामा अमेरिकाको समर्थन भएकाले यसको महत्व बढेको र अपौचारिक पत्र पठाएर जवाफ लिन सरकारको ध्यानाकर्षण गराएको प्रचण्डले उल्लेख गरे।
पार्टी विभाजन हुन लाग्यो भन्ने चर्चा केही दिन भएपनि केन्द्रीय समितिबाट पार्टीलाई एकतावद्ध गर्न निर्णय गरिएको प्रचण्डले जिकीर गरे । उनले एमसीसी पास भएपछि गठबन्धनमा कुनै खटपट नभई झन् लामो समयसम्म गठबन्धन जाने बाटो खुलेको बताए।
‘एमसीसी पास भएपछि सरकार सुरक्षित भएको छ । देश दुर्घटनामा गएको भए धेरै चिज अफ्ठ्यारोमा पर्ने खतरा थियो। त्यो खतरा अहिले टरेको छ,’अध्यक्ष प्रभण्डले भने, ‘एमसीसी पासले गठबन्धन अझै लामो समयसम्म जाने बाटो खुलेको छ।’
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले वीरेन्द्रनगरको सिटीहलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा कर्णालीका ७९ वटै पालिका, जिल्लाका पदाधिकारी र प्रदेश कमिटीका पदाधिकारीहरु सहभागी भएका छन्। यस्तै प्रशिक्षणमा प्रदेश सल्लाहकार, प्रदेश जेष्ठ कम्युनिष्ट मञ्च, जनवर्गिय संगठनका केन्द्रीय सदस्यहरु पनि सहभागी भएको माओवादी केन्द्रका सुर्खेत संयोजक कृष्ण जिसीले जानकारी दिए।
फागुन २७, २०७८ शुक्रबार १२:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।