दिल्ली मोडलको जादु : कांग्रेसको विकल्प, विजेपीको प्रतिस्पर्धी बन्दै आप

दिल्ली मोडलको जादु : कांग्रेसको विकल्प, विजेपीको प्रतिस्पर्धी बन्दै आप

एजेन्सी : पन्जाबमा ११७ मा ९२ सिट जिते लगत्तै आम आदमी पार्टीका पन्जाब प्रभारी राघव छड्ढा यति उत्साहित भए कि उनले घोषणा गरिदिए अब आप राष्ट्रियस्तरमै कांग्रेसको विकल्प बन्नेछ।

आपले जित त २ पटक पाइसक्यो दिल्लीमा। यस्तो जित जहाँ विपक्षीको अस्तित्व नै रहेन। तर चुनौती थियो के आप दिल्ली बाहिर पनि जित्न सक्ला र !

विपक्षी दल आपलाई दिल्लीवाला पार्टी भनेर सम्बोधन गर्थे। के आप दिल्लीबाट बाहिर निस्किएर राष्ट्रिय पार्टी बन्ने बाटोमा हिँड्न सक्ला ?

पन्जाबको नतिजाले यी सबै प्रश्नको उत्तर दिएको छ। पन्जाब सानो राज्य हैन। त्यसमा पनि पन्जाबको राजनीतिमा आफ्नो खुट्टा अड्याउनु पनि सामान्य उपलब्धि हैन। एकातिर कांग्रेस अनि अर्कोतिर अकाली दल। बिचमा विजेपीको चुनौती। बादल परिवारको प्रभाव। पाकिस्तानसँग सीमा जोडिएकाले उठ्ने राष्ट्रिय सुरक्षाका मुद्दा। तै पनि आपले खुट्टा मात्र अड्याएन पन्जाबमा सिंहासनै पायो।

आप प्रमुख अरविन्द केजरीवालाले निकै समय बिताए पन्जाबमा। दिल्लीको मोडल सुनाए। त्यस्तै मोडलको वाचा गरे। पन्जावका जनताले पत्याए। दिल्लीपछि पन्जाबमा आपको झन्डा गाडियो।

पन्जाबपछिको रणनीति के ?
जित र शानदार जितमा फरक छ। स्वागत र भव्य स्वागतमा फरक छ। पन्जाबमा आपको स्वागत भव्य भयो। सामान्य स्वागत मात्र गरेनन् मतदाताले। त्यसैले आप बाहेकको पार्टीका मै हुँ भन्ने उम्मेदवार पनि टिक्न सकेनन् आपका सामान्य उम्मेदवारका अगाडि।

मुख्यमन्त्रीदेखि ठोको ताली भन्ने पपुलर सिद्दुसम्म पराजित भए यो पाली। बादल परिवारका हस्तीहरू पराजितहुँदा आपबाट भने सामान्य मोबाइल बनाउने पसल चलाउने युवाले जितेका छन्।

पन्जाबमा आपलाई जित मात्रै हैन विपक्षीले हलचल गर्न नसक्ने जित मिलेको छ। दिल्ली बाहिर भव्य स्वागत भएको छ। यो आपका लागि राष्ट्रिय पार्टीको आकार लिने मौका पनि हो।

यस अगाडि नै आपले भारतको उत्तर प्रदेश, गुजरात, गोवा अनि उत्तराखण्डमा सङ्गठन बनाउने प्रयास गरिरहेको छ। तर त्यति प्रभावकारी हुन सकेको छैन। उत्तराखण्डमा काङ्ग्रेस-बिजेपीकै टक्कर छ। गोवामा आपको स्वागतका लागि मतदाता तयार देखिएका छैनन्।

यस्तो अवस्थामा पन्जाबको जित आपका लागि निःशुल्क पानी, बिजुली, सरकारी विद्यालयको स्तरोन्नति लगायतका सुविधासहितको दिल्ली मोडल केवल दिल्लीमा मात्र हैन भारतभर सम्भव छ भन्ने देखाउने अवसर पाएका छन्।

तेस्रो मोर्चाको आँखा अरविन्दमा पर्ला
विजेपी नेता नरेन्द्र मोदीलाई टक्कर दिन कांग्रेसको विकल्पमा तेस्रो मोर्चाको चर्चा र नेतृत्व गर्ने नेताबारे छलफल चलिरहन्छ। त्यसमा केजरीवालाको नाम कसैले लिँदैनथे। ममता बेनर्जी,शरद पवार अनि अखिलेश यादव। यी नै नाम हुन् लिइने।

केजरीवाल क्षेत्रीय दलको नेता मात्र हैन उनी राष्ट्रिय नेताको छवि बनाउन प्रयासरत थिए। पन्जाबको जितले त्यो बाटो खोलिदिएको छ।

यसले विजेपीभन्दा बढी कांग्रेसको धड्कन बढाएको छ। दिल्लीमा कांग्रेसको १५ वर्षको राज आपले नै सक्काएन मात्रै शून्य सिटमा पुर्यायो। पन्जाबमा कांग्रेसलाई धुलो बनायो। जहाँ विजेपीलाई कांग्रेसले टक्कर दिन सकेको छैन त्यो गुजरातको सुरत पनि स्थानीय चुनावमा २७ सिट जितेको छ।

अहिले आप सबै प्रदेशमा सत्तामा जाने रणनीतिमा देखिएको छैन। उ आफूलाई सकेसम्म प्रमुख प्रतिपक्षी दलको हैसियतमा लगेर विजेपीलाई टक्कर दिन चाहन्छ। यो पश्चिम बङ्गालमा विजेपीले अपनाएको रणनीति हो। त्यहाँ सत्ताबाट विपक्षीमा पुगेको लेफ्टलाई विजेपीले विस्थापित गरेर ममतालाई टक्कर दिइरहेको छ विजेपीले।

आपको रणनीति पनि यही देखिन्छ। यसले विजेपीको चुनौती बढाउँछ नै। तर सबैभन्दा ठुलो खतरा भने कांग्रेसलाई देखिन्छ। अहिले कांग्रेस अधिकांश प्रदेशमा विपक्षी दल छ। त्यो पनि नरहे कांग्रेसको राष्ट्रिय चरित्र कमजोर बन्ने छ नै। यसमा आपको मोडलले विजेपीलाई सत्ताबाट विपक्षी बनाउने जोखिम पनि छ नै।

फागुन २७, २०७८ शुक्रबार ११:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।