कांग्रेस अधिवेशन: सप्तरीमा कोइराला पक्षका साह, धनुषामा दोस्रो चरणको निर्वाचन हुँदै

काठमाडौंः नेपाली कांग्रेस सप्तरी जिल्ला समितिको सभापतिमा रामदेव साह निर्वाचित भएका छन्। शेखर कोइराला समूहका साहले शेरबहादुर देउवा समूहका शत्रुधनप्रसाद यादवलाई एक सय १६ मतान्तरले पराजित गरेका हुन्।
साहले कुल दुई हजार तीन सय ४२ मत खसेकोमा एक हजार एक सय ८६ मत ल्याए भने यादवले एक हजार ७० मत मात्र प्राप्त गरे।
यस्तै आज मधेश प्रदेशको धनुषा जिल्लामा कांग्रेस अधिवेशनअन्तर्गतको दोस्रो चरणको निर्वाचन हुँदैछ। यसअघि बुधबार भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुनः निर्वाचन हुन लागेको हो।
कुल दुई हजार नौ सय १२ मत खसेकोमा नेता विमलेन्द्र निधि पक्षका योगेन्द्र पजियारले एक हजार दुई सय ४८, शेरबहादुर देउवा पक्षका सन्तोषकुमार यादवले आठ सय ८३ र शेखर कोइराला पक्षका दिनेशप्रसाद प्रसैला यादवले ६ सय ३० मत ल्याएका थिए।
त्यसपछि दोस्रो चरणको चुनावका लागि पहिलो चरणमा सर्वाधिक मत ल्याउने पजियार र यादवबीच प्रतिस्पर्धा हुने भएको थियो।
यसअघि हिजै मतदान हुने भनिए पनि नेताहरूबीच सहमति नजुट्दा मतदान एक दिन पर सरेको थियो।
फागुन २७, २०७८ शुक्रबार ०८:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।