३८ नेपाली परिवार अझैँ युक्रेनमै, पाँच सय ८४ को उद्धार

काठमाडौँ : रुस युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीहरूको उद्धारको काम सकिएको जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले दाबी गरेका छन्। उनले हालसम्म युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानमा पुगेकाले उद्धार कार्य सम्पन्न भएको बताएको रुस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिले दाबी गरेको छ।
खड्काले अन्य देशको तुलनामा नेपालीहरूको उद्धार कार्य निकै छिटो भएको दाबी समेत गरे। उद्धारको काम सकिए पनि उनीहरूको पुनर्स्थापनाको काम भने चुनौतीपूर्ण रहेको उनको दाबी थियो।
युद्ध सुरु भएपछि युक्रेनमा रहेका नेपालीहरू आफ्नो ज्यान बचाउन पोल्यान्ड, स्लोभाकिया, हंगेरी, स्पेन, जर्मनी, रोमानिया र माल्दावा लगायतको देशमा पुगे छन्।
पछिल्लो तथ्याङ्क अनुसार हालसम्म पोल्यान्डमा ४ सय ६६ जना, स्लोभाकियामा ७८ जना, रोमानियामा २८ जना, हंगेरीमा ८ जना, र ४ जना माल्दावा पुगेका हुन्। हाल सम्म ५ सय ८४ जना नेपालीहरू सुरक्षित गन्तव्यमा पुगेका छन्।
राजदूत खड्का अनुसार ३ जना नेपालीहरूलाई भारतीय उडान मार्फत उद्धार गरिएको छ। उनीहरू भारतको नयाँ डिल्ली हुँदै नेपाल जाने तयारीमा छन्। युक्रेनबाट निस्केका मध्ये ४० जना नेपालीले यात्रा अनुमति पत्र -ट्राभल्स डकुमेन्ट लिएको जर्मनस्थित नेपाली दूतावासले जनाएको छ।
करिब ३८ जनाको परिवार आफ्नो व्यवसाय सहित स्थायी बसोबास गर्दे आएकाले पारिवारीक, कानुनी र व्यवहारिक कारणले युक्रेनमै छन्।
फागुन २६, २०७८ बिहीबार २१:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।