एनसेलले लैनचौरको विवादित मैदान दियो वडालाई

काठमाडौँ : लैनचौरको खुल्ला क्षेत्रमा कृत्रिम मैदान बनाउँदा आलोचित बनेको एनसेलले मैदान पुनर्निर्माण गरेको दाबी गरेको छ। प्राकृतिक खेल मैदान बनाउनुको साटो कृत्रिम मैदान बनाएपछि एनसेल र काठमाडौँ महानगरपालिकाको सामाजिक सञ्जालमा विरोध भएको थियो। उसले मैदान पुनर्निर्माण गरेको दाबी गरे पनि के-के गरेको हो सो भने खुलाएको छैन।
एनसेलले सो मैदान काठमाडौँ महानगरपालिका वडा नम्बर २६ लाई हस्तान्तरण समेत गरिसकेको छ। व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत एनसेलले मैदान पुनर्निर्माण गरेको हो।
वडा र स्थानीय समुदायको सहकार्यमा मैदानको डिजाइन गरेर पुन:निर्माण र स्तरोन्नति गरिएको उसको दाबी छ। ५४ हजार ९२१ वर्ग फिट क्षेत्रमा फैलिएको मैदानमा सेभेन ‘ए’ साइजको मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, बालबालिकाको खेल्ने क्षेत्र, ५० रूख, हरियाली क्षेत्र, परम्परागत सत्तल, तीन ढुंगेधारा, सार्वजनिक शौचालय, सोलार बत्ती राखिएको उसको दाबी छ।
एनसेलले सो क्षेत्रको निर्माण र मर्मत सम्भारका लागि २ वर्षको जिम्मेवारी समेत लिएको छ।
फागुन २६, २०७८ बिहीबार २१:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।