पर्यटनको नेपाल बसाई बढाउन अर्थमन्त्रीको आग्रह, मन्त्रालयबिच समन्वयको अभावमा अर्थतन्त्रमा नकारात्मक प्रभाव

पोखरा : अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सुदृढका लागि कृषि, पर्यटन र ऊर्जाको क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने बताएका छन्। बिहीबार १७ औँ लेखनाथ महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले आयातलाई प्रतिस्थापन गर्नका लागि कृषिमा आत्मनिर्भर, पर्यटन प्रवर्द्धन र ऊर्जाको खपत बढाउनु पर्ने बताएका हुन्।
शर्माले विदेशी मुलुकबाट खाद्यान्न देखी विलासिताका वस्तुहरूको आयात गर्न मुलुकको ठुलो आर्थिक हिस्सा खर्चनु पर्दा विदेशी मुद्राको संचिती घटेको बताउँदै परनिर्भरता बढ्दै गएको बताए।
उनले कृषि उत्पादनमा आत्मनिर्भर हुन सकेको अवस्थामा अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने बताउँदै निजी क्षेत्रले त्यसका लागि आवश्यक क्षेत्रमा लगानी गर्नुपर्ने बताए।
मन्त्री शर्माले पछिल्लो समय पर्यटन क्षेत्रमा लगानी बढ्दै गएको उल्लेख गर्दै, पर्यटकको बसाई लम्ब्याउने खालका कार्यक्रम ल्याउन समेत निजी क्षेत्रलाई आग्रह गरे। उनले गण्डकी प्रदेशमा पर्यटन पूर्वाधारको विकासमा फड्को मारेको बताउँदै लगानीका नयाँ क्षेत्र खोज्न सुझाव दिए।
निजी क्षेत्र सरकारको ७० प्रतिशतको साझेदार भएको उल्लेख गर्दै उनले आत्मनिर्भर हुने परियोजनामा राज्यले छुटको व्यवस्था समेत गरेको बताए।
मन्त्री शर्माले पोखरादेखि काठमाण्डौंसम्मको यात्रालाई दुई घण्टामा व्यवस्थापन गर्ने गरी योजना बनाएको बताउँदै अहिलेको सडक विस्तार योजनामा भएका त्रुटिलाई सुधार गरेर अघि बढ्ने बताएका थिए।
शर्माले कोभिड सङ्क्रमण र रेमिट्यान्स घट्दा अर्थतन्त्रमा समस्या परेको खुलाए। उनले पुँजीगत खर्च बढाउन अन्तर मन्त्रालयबिच समन्वयको अभाव हुँदा अर्थतन्त्रमा नकारात्मक प्रभाव देखिएको दाबी समेत गरे।
फागुन २६, २०७८ बिहीबार २०:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।