सफाइ कर्मचारीको सन्तान र वकिल मिलेर दिग्गजलाई हराउँदै पन्जाबमा यसरी गाँड्दैछन् जीतको झन्डा

एजेन्सी : भारतको पन्जाबको विधानसभा निर्वाचनमा पुराना अनि परम्परागत पार्टीलाई पछाडि पार्दै वैकल्पिक राजनीतिक दल आम आदमी पार्टी सरकार बनाउन जाँदैछ। निर्वाचनको यो नतिजा कुनै राजनीतिक सुनामी भन्दा कम छैन। चुनावमा प्रकाशसिंह बादल, क्याप्टेन अमरिन्दर सिंह, चरणजित सिंह चन्नी अनि नवजोत सिंह सिद्धु जस्ता दिग्गज नेताहरू पराजित भएका छन्।
राजनीतिका पुराना यी खेलाडीलाई हराउने आपका नेताहरू भने सबै नयाँ छन्। पन्जाबका मुख्यमन्त्री चरणजीतलाई हराए लाभ सिंह उगोगके। ३५ वर्षका उनी राजनीतिमा आउनु अगाडि एक मोबाइल पसल चलाउँथे। उनको बुबा सवारी चालक हुन् भने आमा गाउँको विद्यालयमा सफाइको कर्मचारी छिन्।
उनी सन् २०१३ मा आपमा सहभागी भएका थिए। उनी सन् २०१७ मा पन्जाबको भदौरेमा आपका उम्मेदवार पीरमल सिंह खालसाको चुनावी अभियानमा सहभागी भएका थिए। यो पाली उनैले टिकट पाए र मुख्यमन्त्रीलाई हराएर सबलाई छक्क पारे।
चमकोर साहिब सिटबाट चरणजीत सिंह चन्नीलाई हराउने आपका उम्मेदवारको नाम पनि चरणजित सिंह नै हो। उनी यो क्षेत्रका आँखाका चिकित्सक हुन्। उनी लामो समयदेखि समाजसेवामा संलग्न थिए। पन्जाबमा धेरै लोकप्रिय पूर्व क्रिकेटर नवजोत सिंह सिद्धुलाई हराइन् आपकी उम्मेदवार जीवजजोत कौरले। उनी २० वर्षदेखि समाजसेवामा सक्रिय थिइन्।
पाँच पटक मुख्यमन्त्री भइसकेका शोरोमणी अकाली दलका नेता प्रकाश सिंह बादललाई हराए गूरमित सिंह खुडियाले। उनको परिवार राजनीतिक पृष्ठभूमिकै हो। उनी यस अगाडि कांग्रेसमा सहभागी भएका थिए। यस पटक उनी आपमा सहभागी भएर असम्भव नतिजालाई सम्भव बनाए।
शिरोमणि अकाली दलका अध्यक्ष सुखवीर सिंह बादलविरुद्ध चुनावमा होमिएका जगदिप सिंह गोल्डी कानुनका विद्यार्थी हुन्। उनी यस अगाडि अखिल भारतीय युवा कांग्रेसमा थिए। अघिल्लो विधान सभामा निर्दलीय उम्मेदवार बनेका उनी यो पटक आपमा सहभागी भएर पराजित गराए।
पन्जाबकै अर्थ मन्त्री मनप्रीत सिंह बादललाई हराउने जगरुप सिंह गिल वकिल हुन्। उनी जिल्ला बार एसोसिएसनको अध्यक्ष भइसकेका छन्। पन्जाबका पूर्व मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहको निकट मानिने उनले हालै कांग्रेस छाडेर आपमा सहभागी भएका थिए।
फागुन २६, २०७८ बिहीबार १९:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।