सरकारमा बिचौलियाको प्रभाव : भारत तस्करी हुने सुपारी, मरीच र केराउको आयात खुल्यो

सरकारमा बिचौलियाको प्रभाव : भारत तस्करी हुने सुपारी, मरीच र केराउको आयात खुल्यो

काठमाडौँ : विदेशी मुद्रा सञ्चित घटिरहेको बेला भारत तस्करीका लागि नेपाल भित्रिने गरेका सुपारी, मरीच र केराउको आयात खुल्ला गरेको छ। नेपालमा आवश्यक पर्नेभन्दा ठुलो मात्रामा यी सामान नेपाल भित्र्याएर नेपालको उत्पादन भन्दै भारत निकास गर्न एक समूह नै क्रियशिल छ नेपालमा।

उनीहरूले लामो समयदेखि प्रधानमन्त्री पत्नी आरजु देउवालाई भेटेर यसको आयात खुल्ला गराउन लबिङ गर्दै आएका थिए। सरकारले राजपत्रमा सूचना निकालेर उद्योगका लागि भन्दै तीनै चीजको आयात खुल्ला गराएको हो।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचनामा निकासी पैठारी नियन्त्रण ऐन २०१३ अनुसार बन्देज लगाएको केराउ, सुपारी र मरीच औधोगिक प्रयोजनका लागि उद्योग विभागको सिफारिसमा आयात गर्न सकिने उल्लेख छ।

सूचना अनुसार विभागको सिफारिसमा सम्बन्धित उद्योग आफैँ आयात गर्न सक्ने व्यवस्था गरेर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालु आर्थिक वर्ष २०७८-७९ का लागि आयात अनुमति प्रदान गर्न स्वीकृति दिने गरी सरकारले निर्णय गरेको उल्लेख छ।

उता अत्यावश्यक सामान बाहेककाको आयातमा कडाइ गर्दै नेपाल राष्ट्र बैङ्कले सुनमा आयातको कोटा घटाएर दैनिक २० किलोबाट १० किलो बनाएको छ। राष्ट्र बैङ्कले अन्य वस्तु आयातका लागि एलसी खोल्दा समेत निश्चित मार्जिन रकम राख्नुपर्ने व्यवस्था गरेको छ।

तर सरकारले भने उद्योगको नाममा तस्करी गर्ने उद्देश्यले नेपाल भित्रिने वस्तुकै आयात खुला गराएको छ। प्राय काँकडभिट्टा लगायतका भारतसँग नाका जोडिएका सीमाबाट यस अगाडि भारतमा केराउ, मरीच र सुपारी निर्यात गर्ने गरेका छन्।

नेपालमा भन्दा भारतमा बढी पैसा पाउने भएपछि सो क्षेत्रको एक समूह नै यसको तस्करीमा संलग्न भएको खुलेपछि सरकारले यस अगाडि सुपारीको निर्यातमा समेत कडाइ गरेको थियो।

फागुन २६, २०७८ बिहीबार १८:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।