गृहले खुलायो १७ प्रकारका ठगी : विशिष्ट व्यक्ति भेटाउने भन्दै लोभ्याए खबर गर्न आग्रह

काठमाडौँ : विशिष्ट व्यक्तिसँग भेटघाट र सम्पर्क गराउने भन्दै ठगी गर्ने क्रम बढेको भन्दै गृह मन्त्रालयले कसैले यस्तो प्रलोभन दिए प्रहरीमा खबर गर्न आग्रह गरेको छ।
गृहले पछिल्लो समय हुने गरेको ठगीका १७ बुँदा सार्वजनिक गर्दै कसैले त्यस्तो प्रस्ताव राख्दै रकम मागेमा जिल्ला प्रशासन कार्यालय वा प्रहरी कार्यालयमा जानकारी दिन आग्रह गरिएको छ।
गृहले रोजगारी वा काममा लगाइदिने भन्दै प्रलोभन दिएमा, नियुक्ति, पदस्थापन र सरुवा र बढुवा गराउने, भर्ना र छात्रवृत्तिको प्रलोभन देखाएमा ठगी हुनसक्ने बताएको छ।
यसै गरी जग्गा वा घडेरी उपलब्ध गराउने, उपचार वा आर्थिक सहायता, अनलाइन चिट्ठा, घरमै बसेर कमाइ हुने भन्दै लोभ्याउने, अनलाइन लगानीमा प्रोत्साहित गर्ने, डिजिटल मुद्रामा लगानी गराउने गरेमा ठगी हुनसक्ने गृहको सूचनामा उल्लेख छ।
यसै गरी रोकिएको काम वा मुद्दा मामिला मिलाउने, ठेक्कापट्टा मिलाउने, कम रकमको कारोबार गरेर बढी रकमको कागज बनाएर सही छाप गर्न लगाउने, ढुकुटी खेल्ने, खेलाउने, अनलाइन ठगी,मिटर ब्याजमा रकम उपलब्ध गराउने र बैङ्किङ प्रणाली भन्दा बाहिरबाट मुद्रा पठाउने वा मगाउने गरेमा पनि प्रहरीमा खबर गर्न आग्रह गरेको छ।
फागुन २६, २०७८ बिहीबार १८:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।