बैंक ग्यारेन्टी नक्कली बनाउने शाखा प्रबन्धक चौधरीविरुद्ध मुद्दा दायर

बैंक ग्यारेन्टी नक्कली बनाउने शाखा प्रबन्धक चौधरीविरुद्ध मुद्दा दायर

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंक ग्यारेन्टी नक्कली बनाउने राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रबन्धक रामजनक चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

मध्यपश्चिम सडक डिभिजन कार्यालय नं २ दाङ घोराही र बोलपत्रदाता विटी–टौदह–फस्कु जेभीबीच भएको सम्झौता अनुसारको सोनापुर सिमेन्ट कारखाना सडक निर्माणमा राष्ट्रिय वाणिज्य बैंक, जुम्लाका तत्कालीन शाखा प्रबन्धक चौधरीले उपलब्ध गराएको कागजात नक्कली रहेको पाइएको हो।

प्रबन्धक चौधरीले उपलब्ध गराएको कागजात नक्कली रहेको भन्दै उनीविरुद्ध आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुर अनुसार मागदाबी गरिएको छ।

साथै सो निर्माण व्यवसायीका तर्फबाट तत्कालीन बिटीका निर्देशक माधवप्रसाद भण्डारी, फस्कु निर्माण सेवाका सञ्चालक अर्जुनबहादुर बुढाथोकी र टौदहका प्रतिनिधि पुन्नबहादुर शाही विरुद्ध पनि आयोगले मुद्दा दायर गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

फागुन २६, २०७८ बिहीबार १७:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।