कमेडियनबाट पञ्जावको मुख्यमन्त्री बनेका भगवंत मान

काठमाडौं : भारतीय कमेडियन-एक्टर भगवंत मान पञ्जावको मुख्यमन्त्री बन्ने पक्का भएको छ। उनलाई आम आदमी पार्टीले पञ्जाव विधान सभा चुनाव २०२२ मा मुख्यमन्त्रीको रुपमा अगाडि सारेको थियो।
भारतको विधान सभा चुनावमा आम आद्मी पार्टीले स्पष्ट बहुमत ल्याएपछि भगवंत मान पञ्जावको मुख्यमन्त्री बन्ने पक्का भएको हो।
सन् १९७२ मा पञ्जावको संगरुर जिल्लामा पर्ने सतोज गाउँमा जन्मिएका भगवंत मानले सन् ९० को दशकमा एक्टिङ तथा कमेडी गर्न सुरु गरेका थिए।
सन् १९९४ मा उनले पहिलो पटक 'कचहरी' नामको फिल्ममा काम गरेका थिए। उनले १० वटाभन्दा बढी फिल्ममा कलाकारको रुपमा काम गरेका छन्।
उनले कयौं कमेडी शो पनि गरेका छन्। उनले जगतार जग्गीसँग मिलेर लामो समय कमेडी गरेका थिए। सन् २००६ मा भगवंत मान र जग्गीले निकै लोकप्रिय शो 'लाइफ विद वाइफ' क्यानडा तथा बेलायतमा गरेका थिए।
उनले सन् २००८ मा भारतको लोकप्रिय कमेडी रियालिटी शो 'ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज' मा पनि भाग लिएका थिए।
भगवंत मान सन् २०१२ मा राजनीतिमा इन्ट्री गरेका थिए। उनी सुरुमा मनप्रित सिंह बादलको पार्टी पञ्जाव पिपल्स पार्टीमा जोडिए। मानले २०१२ मा पूर्व मुख्यमन्त्री राजिन्दर कौर भट्ठलको विरुद्धमा विधानसभा चुनाव लडे तर पराजित भए।
सन् २०१४ को लोकसभा चुनावभन्दा पहिला बादल कांग्रेसमा प्रवेश गरे। त्यसपछि भगवंत मानले आम आदमी पार्टी रोजेका हुन्। अहिले तिनै भगवंत मान पञ्जाव राज्यको मुख्यमन्त्री बन्दैछन्।
फागुन २६, २०७८ बिहीबार १७:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।