एमसीसी नेपालको विकासका लागि आवश्यक: प्रधानमन्त्री देउवा

काठमाडौँ : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) नेपालको विकासका लागि आवश्यक भएको बताएका छन्।
नेपाली कांग्रेस पर्साले आज वीरगञ्जमा आयोजना गरेको जिल्ला कार्यसमितिमा निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण तथा पदास्थापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले हालै संसद्बाट पारित भएको एमसिसी सम्झौताले नेपालको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा व्यक्त गरेका हुन्।
उनले एमसिसीबाट प्राप्त हुने रकम ऋण सहयोग नभई अनुदान भएकाले उक्त रकमलाई सदुपयोग गर्न सके राष्ट्र विकास चाँडै गर्न सकिने विचार व्यक्त गरे।
उक्त रकमलाई सदुपयोग गरे अमेरिका मात्र नभई विश्वका अन्य समृद्ध राष्ट्रले नेपालमा लगानी गर्ने र मुलुकमा व्याप्त रहेको बेरोजगारी तथा पछौटेपन समाप्त हुने विश्वास व्यक्त गरे।
प्रमानमन्त्री देउवाले चीन र भारतजस्ता विशाल राष्ट्रको बीचमा रहेको नेपालले मुलुकको विकासका लागि दुवै देशको सहयोग लिने र दुवै राष्ट्रसँग सन्तुलित मित्रवत् सम्बन्ध राख्न आवश्यक रहेको बताए।
उनले सरकारमा सहभागी भएका दलसँग समन्वय गरी स्थानीय तहको निर्वाचनमा सहभागी हुने जानकारी दिए। उनले गठबन्धनसँग मिली निर्वाचनमा सहभागी भए स्थानीय, प्रदेश र सङ्घ गरी तीनै तहमा विजय हासिल गर्ने सम्भावना प्रबल भएकाले गठबन्धनमा चुनाव लड्ने विषयमा दलहरुसँग छलफल चलिरहेको बताए।
विसं २०७४ को चुनावमा कांग्रेस कमजोर भएर नभइ सबै कम्युनिष्टहरू एक भएकाले कांग्रेसको हार भएको स्पष्ट गर्दै गठबन्धनसहित निर्वाचनमा जाने विषयमा छलफल भइरहेको समेत बताए।
विभिन्न दल परित्याग गरी कांग्रेस पार्टीमा प्रवेश गरेका पर्साका पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनियार (मन्टु)लगायतका नेता–कार्यकर्तालाई सभापति देउवाले कांग्रेस पार्टीमा स्वागत गरेका छन्।
फागुन २६, २०७८ बिहीबार १५:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।