भूमि आयोगको मान्छे हुँ भन्दै ठग्ने दुई जना पक्राउ

काठमाडौँ : भूमि आयोगको मान्छे हुँ भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरिएको छ। काठमाडौँ महानगरपालिका–१६ स्थित भेटघाट क्याफेमा दुई व्यक्ति मिलेर सुकुम्वासीलाई जग्गा वितरण गर्ने लोभ देखाउँदै फारम भर्न लगाई पैसा असुल्ने झापाको भद्रपुर घर भई काठमाडौँको टोखा बस्ने ३८ वर्षका होमनारायण चौधरी र काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–४ बस्ने ४४ वर्षका उद्धव भण्डारीलाई पक्राउ गरिएको हो।
आफूलाई भूमि आयोगले खटाएका व्यक्ति हौँ भनी परिचय गराई काठमाडौँमा सुकुम्वासीले चार आना जग्गा प्राप्त गर्न जनही रु ५० हजार लाग्ने भनी फारम भर्न लगाई ठगी गरेका पाइएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।
उनीहरुबाट ल्यापटप, प्रिन्टर, भूमिहीन (भूमिहीन दलित, भूमिहीन सुकुम्बासीले भर्ने निवेदन फारम लेखिएको), अव्यवस्थित बसोवासीले दिने निवेदनको ढाँचा लेखिएको फारम, विभिन्न व्यक्तिको नाम तथा फोटोसमेत राखिएका रेकर्ड फाइललगायतका सामग्री बरामद गरिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
गोप्य सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी सरकारी वकिलमार्फत काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएकोमा आदालतको आदेशले दुवै जना पुर्पक्षका लागि कारागार चलान भएका परिसरले जनाएको छ।
फागुन २६, २०७८ बिहीबार १४:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।