फेसबुक, वाट्सएपमा २५ लाखको चिट्ठा परेको भन्दै ठगी गर्ने पक्राउ

काठमाडौंः नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ रंगेली नगरपालिका-६ पिपलचोक ठेगाना भएका २० वर्षीय धिरेनकुमार मण्डल रहेका छन्।
उनलाई अनलाईनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा आइतबार पक्राउ गरिएको हो। उनले वाट्सएप, इमो, फेसबुकको दुरुपयोग गरी लक्की ड्रमार्फत २५ लाखको चिट्ठा परेको प्रलोभनमा देखाउँथे। त्यसपछि पीडितहरूसँग बैंक खाता नम्बर मागी उक्त खातामा प्रयोग भएको मोबाइल नम्बरमा ओटीपी कोड समेत लिई पीडितको खातामा भएको रकम अन्य खातामा सार्थे।
बैंक खाता, ईसेवा, खल्ती जस्ता आईडीहरूमा रकम ट्रान्सफर गरी उनले दुई लाख एक हजार रुपैयाँ ठगी गरेका थिए। महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय रंगेली मोरङसँग आवश्यक समन्यव गरी उनलाई पक्राउ गरेको हो।
उनीउपर ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ।
फागुन २६, २०७८ बिहीबार १३:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।