सङ्खुवासभा दुर्घटना अपडेट: १० मृतक र पाँच घाइतेको पहिचान खुल्यो

काठमाडौंः सङ्खुवासभाको मादी– ६ सातघुम्तीमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये १० जनाको सनाखत भएको छ। यस्तै अन्य पाँच जना घाइतेको पनि पहिचान खुलेको छ।
मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको औंशीडाँडाका ३० वर्षीय विपीन निरौला, मादी–४ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी–५ का ४५ वर्षीय दीपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा र ५५ वर्षीय भवानी दाहाल, मादी–६ का ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, ३८ वर्षीय आइतबहादुर तामाङ, ३५ वर्षीया सविता राउत कार्की, मादी– ६ की अञ्जना कटुवाल र मादी– ५ की दीक्षा कटुवाल रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए।
यस्तै घाइते हुनेमा मादी–५ का सुवाष गोले, युवा पोख्रेल र मादी–६ का तुलसा कटुवाल, अम्बिका विक र डम्बरबहादुर कार्की रहेका छन्।
बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बा४ख ७३५ नम्बरको बस तीव्र गतिका कारण दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान छ। बस सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
यसैबीच घाइतेहरूको भने हेलिकप्टरमार्फत उद्धार भइरहेको छ। उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ।
फागुन २६, २०७८ बिहीबार १२:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।