सङ्खुवासभा दुर्घटना अपडेट: गृहमन्त्रीको निर्देशनमा उद्धारका लागि हेलिकप्टर

काठमाडौंः सङ्खुवासभाको मादी नगरपालिका–६ सातघुम्तीमा आज भएको बस दुर्घटनामा घाइते भएकाको उद्धारका लागि हेलिकप्टर पठाइएको छ। गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनपछि उद्धारका लागि होलिकप्टर पठाइएको हो।
खाँणले गृहसचिव टेकनारायण पाण्डे र सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालाई घाइतेको हेलिकप्टर प्रयोग गरेर यथाशीघ्र उद्धार गर्न निर्देशन दिएका छन्।
मन्त्रीले हेलिकप्टरबाट उद्धार गर्न निर्देशन दिएपछि हेलिकप्टर पठाउन नेपाली सेनासँग समन्वय गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने।
सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी खतिवडाका अनुसार बस दुर्घटनामा हालसम्म १४ जनाको मृत्यु भइसकेको छ। पाँच जना गम्भीर घाइते छन्। घाइतेलाई घटनास्थलबाट चैनपुर र त्यहाँबाट हेलिकप्टरमा धरान पुर्याउने तयारी भइरहेको प्रजिअ खतिवडाले जानकारी दिए।
घटनास्थल जिल्ला सदरमुकामबाट ६० किलोमिटर टाढा छ। गाडी सड्कबाट ३०० मिटर तल खसेर दुर्घटना भएको थियो।
फागुन २६, २०७८ बिहीबार १२:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।