स्थानीय तहमा एमालेको जित सुनिश्चित छः अध्यक्ष ओली

स्थानीय तहमा एमालेको जित सुनिश्चित छः अध्यक्ष ओली

काठमाडौँ :  एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहमा आफ्नो पार्टीको जित सुनिश्चित भएको बताएका छन्। एमाले जिल्ला कमिटी मोरङले रङ्गेलीमा आज आयोजना गरेको तराई मधेश बृहत् जनसभालाई सम्बोधन गर्दै उनले पार्टीप्रति जनलहर सिर्जना भएकाले आसन्न स्थानीय तहको निर्वाचनमा जित हासिल गर्ने दाबी गरेका हुन्। 

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले समृद्धिको यात्रामा कतै पनि नअल्मलिकन देशव्यापीरूपमा लाग्ने विश्वास दिलाए। अध्यक्ष ओलीले जन्मसिद्ध आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले नागरिकता पाउनुपर्ने भन्दै नागरिकताको समस्या समाधान गर्नुपर्नेमा जोड दिए। 

एमालेभित्रको घुसपैठले सरकार विस्थापित हुनुपरेको भन्दै उनले पार्टीमा गलत काम गर्नेहरू चिनीएकाल उनीहरूलाई जनताले ठेगान लगाउने ठोकुवा गरे। उनले आफ्नो पार्टी जनताका माझमा निकै बलियो भएको तर्क गर्दै विगतमा एमाले सही नीतिका कारण नेपालको भूमि फिर्ता ल्याएको दाबी गरे।

एमालेका सरकारले ज्येष्ठ नागरिक, अपाङ्गता भएका र एकल महिलालाई सामाजिक सुरक्षा भत्ता दिएर सामाजिक न्याय गरेको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष ओलीले हाम्रो पार्टी जनताको चाहना एवं भावनाअनुसार काम गरेको उल्लेख गरे। 

सो अवसरमा अध्यक्ष ओलीले माओवादी केन्द्रबाट निर्वाचित रङ्गेली नगरपालिका प्रमुख दिलीप अग्रवाल (बगडिया), उपप्रमुख केशवकुमारी खराल, वडा नं ७ का वडाध्यक्ष रामचन्द्र मण्डल, वडा नं ५ का वडाध्यक्ष महानन्द मण्डल र वडा नं १ का वडाध्यक्ष महेश खनालसहितका कार्यकर्तालाई पार्टी प्रवेश गराएका थिए। 
 

फागुन २५, २०७८ बुधबार १७:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।