बुद्ध जयन्तीमा बढी भन्दा बढी विदेशी पर्यटक भित्र्याउन जुटौँः मन्त्री आले

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बुद्ध जयन्तीमा बढी भन्दा बढी विदेशी पर्यटक भित्र्याउन सबैले जुट्नु पर्ने बताएका छन्।
लुम्बिनी विकास कोषले आज मन्त्रालयमा आयोजना गरेको कोषका नवनियुक्त पदाधिकारीलाई बधाई तथा शुभकामना प्रदान कार्यक्रममा उनले आउँदै गरेको बुद्ध जयन्तीलाई भव्य तथा सभ्य रुपमा सफल पार्न एकजुट भएर लाग्न सबै पदाधिकारी र कर्मचारीहरुलाई निर्देशन दिएका हुन्।
उनले भने, “बुद्ध जयन्तीका लागि सबै जुटौँ, देश विदेशबाट जति सक्दो बढी बुद्ध धर्मावलम्बी तथा पर्यटकलाई भित्र्याउनका लागि प्रचारप्रसारमा लाग्नुस्, मैले गर्नुपर्ने सहयोग म गर्न तयार छु।”
सो क्रममा उनले लुम्बिनी क्षेत्रको विकासका लागि तत्काल खटिन कोषका पदाधिकारीहरुलाई आग्रह पनि गरे। उनले भने, “तपाईंहरुको पाँचवर्षे कार्यकाल छ, आफ्नो कार्यकालभित्र लुम्बिनी क्षेत्रको विकास गर्नुस्।”
मन्त्री आलेले उच्च मनोबलका साथ काम गर्नसमेत पदाधिकारीलाई निर्देशन दिए। हालसम्म लुम्बिनी विकास कोषअन्तर्गत ८१ प्रतिशतभन्दा बढी काम सम्पन्न भएको र बाँकी काम सम्पन्न गर्नका लागि जति लाग्छ, त्यसको लागत स्टिमेट ल्याउन र एकै चोटि काम सम्पन्न गर्ने गरी बहुवर्षीय प्रक्रियाबाट काम अगाडि बढाउने गरी काम गर्न उनले आग्रह गरे।
फागुन २५, २०७८ बुधबार १६:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।