लमजुङको सुन्दरबजारमा अनिश्चितकालीन कर्फ्यु

लमजुङको सुन्दरबजारमा अनिश्चितकालीन कर्फ्यु

लमजुङः जिल्लाको सुन्दरबजार नगरपालिकास्थित सिउँडीबार क्षेत्रमा आज बिहान ६ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको छ। सुन्दरबजार–९ स्थित मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा तनहुँको भानु नगरपालिका–९का १७ वर्षीय सनिज श्रेष्ठको मङ्गलबार मृत्यु भएपश्चात उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको हो।

प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार सो क्षेत्रमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार निषेधाज्ञा जारी गरिएको छ। सुन्दरबजार–७ को पूर्व–दक्षिणस्थित पाउँदी पुल, पूर्वतर्फ राइनासतर्फको मर्स्याङ्दी नदीको पुल, पश्चिमतर्फ सोही नगरपालिकाको वडा नं ९ को मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना केन्द्रको आवास क्षेत्र अगाडिको पुल र उत्तरतर्फ सोही वडाको सिउँडीबार चोकसमेत चार किल्ला क्षेत्रमा कर्फ्यु जारी जारी गरिएको छ।

मृतक श्रेष्ठ फ्युचर स्टार आवासीय मावि कक्षा १० मा अध्यनरत थिए। उनी विद्यालयको छात्रवासमा बस्दै आएका थिए। उनको पौडी खेल्ने क्रममा मृत्यु भएपछि मृतकका आफन्तले विद्यालयले लापरबाही गरेको भन्दै सो क्षेत्र मङ्गलबार तनावग्रस्त बनाएका थिए।

फागुन २५, २०७८ बुधबार ०९:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।