सामूहिक आत्महत्या प्रयास : आर्थिक सङ्कटले घेरेपछि परिवारले नै विष पिए

काठमाडौँ : एकै परिवारका पाँच जना सदस्यले विष पिएर आत्महत्याको प्रयास गरेको घटनामा आर्थिक पक्ष जोडिएको छ। काठमाडौँको रामकोटमा भएको घटनाको अनुसन्धानकोक्रममा प्रहरीले फेला पारेको डायरीमा लेखिए अनुसार परिवारै चरम आर्थिक सङ्कटमा परेको देखिएको छ। जसको मारमा परे ११ बर्षिय सुप्रिया प्रधान।
घटनास्थलमा भेटिएको विषादी र कोठामा फेला परेको डायरीको आधारमा सामूहिक आत्महत्याको प्रयासको कारण आर्थिक सङ्कट देखिएको छ। प्रहरीले बरामद गरेको डायरीमा लेखिए अनुसार आमा क्यान्सरको रोगी, दाईमा मानिसक समस्या देखिएको अनि काम गरिरहेको सहकारीको समेत जागिर गएपछि आर्थिक सङ्कटमा परेकाले आत्महत्या गर्न बाध्य भएको उल्लेख छ।
काठमाडौँको नागार्जुन नगरपालिका–६ मा रहेको दुई तले पक्की घरको दोस्रो तलामा एकै परिवारका ५ बेहोस अवस्थामा फेला परेका थिए।
प्रहरीले उनीहरूलाई मनमोहन मेमोरियल अस्पतालमा उपचारका लागि पुर्याएको थियो। तर ३३ वर्षका सुवर्णमान प्रधानको बेलुकै मृत्यु भइसकेको खुल्यो।
६२ वर्षकी इन्दिरामाया प्रधान, ३८ वर्षका भीममान प्रधान, ३५ वर्षकी मन्दिरा प्रधान र ११ वर्षकी सुप्रिया प्रधान भने बेहोस थिए। उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको छ।
'फेला परेको डायरी र घटनास्थलको अवस्थाको आधारमा आर्थिक सङ्कटका कारण परिवारले नै आत्महत्याको प्रयास गरेको देखिएको छ,' महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी सुदिप गिरीले उकेरासँग भने' उपचारमा रहेकाहरूको ज्यान जोगियोस् भन्नेमा छौँ। सबै कोणबाट अनुसन्धान गरिरहेका छौँ।'
डायरीमा उनीहरूले पारिवारले पाएको दुख र आर्थिक सङ्कटबारे उल्लेख गरेकाले सामूहिक आत्महत्याको कारण त्यही हुनसक्ने देखिन्छ। घटनास्थलमा विषको बट्टा समेत फेला परेकाले समेत घटनाले त्यही सङ्केत गरेको देखिन्छ।
यो घटनामा ब्रिटिस गोर्खाली बचत तथा ऋण सहकारी संस्थाको नाम समेत जोडिएको छ। उपचाररत मन्दीरा सोही सहकारीकी कर्मचारी रहेको र उनलाई बचतकर्तासँग रकम लिएर सहकारीमा नदिएको आरोपमा केही समय अगाडि कामबाट निकालिएको खुलेको छ।
सहकारीले बचत रकमका लागि प्रहरीमा उजुरी दिएपछि उनलाई प्रहरीले अनुसन्धानका लागि प्रहरी कार्यालयमा ल्याएको समेत खुलेको छ। सुसाइड नोटमा उनले सहकारीका सञ्चालक र कर्मचारीले मानसिक यातना दिएकाले यस्तो गर्नु परेको दाबी गरेकाले प्रहरीले सो कोणबाट समेत अनुसन्धान गरिरहेको छ।
ललितपुरको घटना निसास्सिएर
२ दिनकी सुत्केरी र २ दिनको बालकसहित एकै परिवारको पाँच जनाको मृत्यु भएको घटनाको अनुसन्धानमा निसास्सिँदा दुखद घटना भएको देखिएको छ। मृतकहरूको पोस्टमार्टम रिपोर्ट आएको छैन। तर घटनास्थलमा पुगेका फरेन्सिक विज्ञले मृत्युको कारण कार्बन पोइजनिङ शङ्का गरेका छन्।
भर्खर बनाएको घरमा झ्याल नराखेको र झ्याल बोराले थुनेर राख्दा अनि सुत्केरीका लागि कोइला बालेर सुत्दा हावा राम्रोसँग वारपार हुन नसक्दा यस्तो घटना भएको आशङ्का गरिएको छ।
फागुन २४, २०७८ मंगलबार २२:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।