राष्ट्रिय टेलिभिजनले गर्यो कानुन उलङ्घन : नाबालिगको गोपनीयता खुलाउने सूचीमा प्रकाश सुवेदीदेखि ऋषि धमलासम्म

काठमाडौँ : बलात्कार पीडित नाबालिगको चरित्रहत्या र पहिचान सार्वजनिक गर्ने विरुद्ध प्रहरीको साइबर ब्युरो अनुसन्धानमा खटिएपछि अहिले प्रसारण भएका कार्यक्रम सम्पादन गर्ने क्रम बढेको छ।
नाबालिगको पहिचान खुलाउन नहुने कानुनी व्यवस्था भए पनि नाबालिगको नामसँगै सार्वजनिक गर्ने होडै बढेको थियो। युट्युबर त भए नै राष्ट्रिय टेलिभिजनका कार्यक्रमहरूमा समेत नाबालिगको पहिचान सार्वजनिक गरियो।
एपीवान टेलिभिजनबाट प्रसारण हुने विवादित कार्यक्रम 'रजतपट'मा कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीले जाहेरी दर्ता भएको दिनदेखि नै नाबालिगको परिचय सार्वजनिक गरेका थिए।
उनले जाहेरी दर्तापछि प्रसारण भएको कार्यक्रममा जाहेरीमा नाम गोप्य किन राखिएको हो कुन्नि समेत भनेका थिए। तर अहिले सो दिन प्रसारण भएको कार्यक्रम उनको युट्युब च्यानलमा हेर्ने हो भने सम्पादन भइसकेको छ। एक साता अगाडि प्रसारित ८० औँ एपिसोडमा पनि उनले म 'यस्तो गीत गाउँछु-२' को समीक्षा गर्नेक्रममा नाबालिगको नाम उल्लेख गरेका थिए। अहिले सो कार्यक्रम सुटुक्क सम्पादन गरेका छन्।
उनले नाबालिग बालिकालाई इलाका प्रहरी कार्यालय गैँडाकोटमा जाहेरी दर्ता गर्न सघाउन को-को गएका थिए भन्दै यो घटनामा एमाले र कांग्रेसलाई समेत जोडेका थिए। तर अहिले त्यो पनि सम्पादन गरिसकेका छन्।
तर उनले जाहेरीपछि प्रसारित एपिसोड ७९ मा नाबालिगको परिचय खुलाउन नहुने कानुनी दायित्व पुरा भएको छैन। उनले नाबालिग र पल शाहको तस्बिरसँगै कार्यक्रममा पटक-पटक नाबालिगको नाम उल्लेख गरेका छन् जुन कानुन विपरीत हो।
प्राइम टेलिभिजनमा धमलाको हमला अनि जनता जान्न चाहन्छन् कार्यक्रम सञ्चालन गर्ने ऋषि धमलाले पनि आफ्ना कार्यक्रममा नाबालिगको परिचय गोप्य राखेका छैनन्। उनको टेलिभिजनको आधिकारिक युट्युब च्यानलमा अहिले पनि नाबालिग बालिकाको नामसँगै प्रहरी हिरासतमा रहेका आरोपी पल शाहको नाम हेडलाइनमै जोडेर राखिएको छ।
१० दिन अगाडि प्रसारित कार्यक्रमको हेडलाइन राखेका छन्'पल– ......प्रकरणमा दोषी को ? को-को जाँदै छ जेल?'
कार्यक्रममा उनले पटक-पटक नाबालिगको नाम लिएका छन्। तीन दिन अगाडि प्रसारित कार्यक्रमको हेडलाइन छ' पल शाह र ......को बारेमा वकिलले गरे यस्तो खुलासा।' पाँच दिन अगाडि प्रसारण भएको कार्यक्रमको शीर्षक छ' पल शाहको साथीको खुलासा : ......सँग सम्पर्क भएको छैन।'
प्राइम टाइमकै अर्को कार्यक्रम प्रसङ्ग एक सवाल अनेकमा समेत पीडित नाबालिगको पहिचान खुलाइएको छ।
कानुन अनुसार पीडित नाबालिगको परिचय सार्वजनिक गर्नु दण्डनीय अपराध भए पनि पहिचान खुलाउने प्रतिस्पर्धा भने उस्तै छ। साइबर ब्युरोले अनुसन्धान सुरु गरिसके पनि यूट्युवरहरुले नाबालिगको परिचय खुलाएर भिडियो राख्ने क्रम रोकेका छैनन्।
सोमबार नै प्रहरीले एक जना फेसबुक प्रयोगकर्ता र एक युट्युबवरलाई पक्राउ गरेर अदालतबाट पाँच दिन हिरासतमा राख्ने अनुमति लिएको थियो। सोमबारै साहाराटिभी खबर नामक युट्युब च्यानलमा राखिएको अभिनेता आर्यन सिग्देलको अन्तर्वार्तामा हेडलाइनदेखि भिडियोमा पीडित नाबालिगको पहिचान समेत खुलाइएको छ।
नाबालिग पीडितको नाम सार्वजनिक गर्दा एक पत्रकारलाई पाँच महिनाको कैद सजायको फैसला भइसके पनि पीडित नाबालिगको परिचय गोप्य राख्नुपर्ने कानुनी दायित्वमा सामाजिक सञ्जाल प्रयोगकर्ता, युट्युबवरसँगै राष्ट्रिय टेलिभिजनका प्रस्तोता समेत गम्भीर नदेखिएपछि ब्युरोले अनुसन्धान अगाडि बढाइरहेको छ। ब्युरोका अनुसार उजुरी परेको, प्रेस काउन्सिल नेपालले लेखि पठाएको र सामाजिक सञ्जालका प्रयोगकर्ता र ब्युरोको आफ्नै अनुगमनका आधारमा कानुनविपरितका गतिविधिमा संलग्न देखिएकाहरुविरुद्ध अनुसन्धान अगाडि बढिरहेको छ।
फागुन २४, २०७८ मंगलबार २१:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।