निर्वाचनमा गठबन्धनकै पक्षमा देउवा : माओवादी र समाजवादीको आलोचना नगर्न निर्देशन

निर्वाचनमा गठबन्धनकै पक्षमा देउवा : माओवादी र समाजवादीको आलोचना नगर्न निर्देशन

काठमाडौँ : स्थानीय तह निर्वाचनको प्रचारबारे निर्णय गर्न बसेको नेपाली काँग्रेसको शीर्ष नेता र केन्द्रीय सदस्यहरूको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले गठबन्धनमा रहेका अन्य दलको आलोचना नगर्न निर्देशन दिएका छन्।

उनले पार्टीको पक्षमा माहौल बनाउन गठबन्धनमा रहेका दलहरूको आलोचना गर्नु नपर्ने र सो काँग्रेसको लोकतान्त्रिक चरित्र समेत नभएको बताउँदै चुनाव प्रचारमा पार्टीका राम्रा कामहरू लिएर जान निर्देशन दिएका हुन्।

२९ फागुनदेखि एक महिनासम्म चुनाव प्रचार अभियान सञ्चालन गर्ने निर्णय गरेको पार्टीमा निर्वाचनमा एक्लै सहभागी हुने कि सरकारमा रहेका दलसँग सहकार्य गर्ने भन्नेबारे निर्णय भएको छैन। देउवा गठबन्धन कायम राखेर निर्वाचनमा जाने पक्षमा छन् भने शेखर कोइराला समूहका नेताहरू एक्लै जानुपर्ने पक्षमा छन्।

कोइराला समूहले आफ्नो योजना अनुसार पार्टीका कार्यक्रमहरूमा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूबारे समेत टिप्पणी गर्ने गरेका छन्। देउवाले बैठकमा मतदाता समक्ष जाँदा अर्काको आलोचना गरिरहनु नपर्ने भन्दै गठबन्धन दलबारे नकारात्मक आलोचना नगर्न निर्देशन दिएकाले उनी आगामी निर्वाचनमा गठबन्धन कायमै राखेर जाने योजनामा रहेको देखिएको छ।

फागुन २४, २०७८ मंगलबार २०:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।