श्रीमतीको हत्या गरेर कतार भागेका भोगेन्द्र ६ वर्षपछि पक्राउ परे

श्रीमतीको हत्या गरेर कतार भागेका भोगेन्द्र ६ वर्षपछि पक्राउ परे

काठमाडौँ : श्रीमतीको हत्या गरेर कतार पुगेका भोगेन्द्रप्रसाद यादव ६ वर्षपछि पक्राउ परेका छन्। सिराहा विष्णुपुर गाउँपालिका-५ लक्ष्मीपुरका ४१ वर्षीय विक्की मुस्कान भन्ने यादवलाई प्रहरीले इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गराएर नेपाल ल्याएको हो।

धारिलो हतियारले घाँटी रेटेर २५ वर्षीया श्रीमती आरती परियारको हत्या गरेको घटनामा संलग्न रहेका उनी भागेर कतार पुगेका थिए। ललितपुर लेलेमा २०७२ वैशाख १५ बिहान उनले आरतीको हत्या गरेका थिए। घटनापश्चात् उनी वैदेशिक रोजगारीको सिलसिलामा कतार गएका थिए।

भोगेन्द्रविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवम् पक्राउको लागि महानगरीय अपराध महाशाखाको अनुरोधमा २०७६ पुस १२ मा इन्टरपोल महासचिवालयबाट 'डिफ्यूजन' तथा २०७७ साउन १९ मा  'रेड नोटिस' जारी भएको थियो।

उनलाई कतार प्रहरीले नियन्त्रणमा लिएर नेपाल डिपोर्ट गरेको थियो। उनलाई नेपाल डिपोर्ट गरेपछि प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो।

यादवलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि महानगरीय अपराध महाशाखामा बुझाइएकोमा इन्टरपोल शाखाले जनाएको छ।

फागुन २४, २०७८ मंगलबार १८:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।