पल शाहलाई बयानका लागि गौंडाकोट लगियो

पल शाहलाई बयानका लागि गौंडाकोट लगियो

पोखरा : नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ प्रहरीको हिरासतमा रहेका अभिनेता पल शाहलाई थप अनुसन्धानका लागि पूर्वी नवलपरासीको गैंडाकोट लगिएको छ।

आफूलाई शाहले गत वर्ष चैतमा गीतको भिडियो छायांकनका क्रममा बास बसेको होटलमा बलात्कार गरेको भन्दै यही फागुन १६ गते गैंडाकोट इलाका प्रहरी कार्यालयमा पीडित किशोरीले जाहेरी दिएकी थिइन्।

जबरजस्ती करणीको मुद्दामा जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका शाहविरुद्ध पीडित किशोरीले पूर्वी नवलपरासीमा पनि जाहेरी दिएकाले उनलाई इलाका प्रहरी कार्यालय गैंडाकोट पठाएको प्रहरीले जनाएको छ।

किशोरीले गैंडाकोट प्रहरीमा जाहेरी दर्ता गराएपछि त्यही बेला भरतपुर अस्पतालमा उनको स्वास्थ्य परीक्षण गरिएको थियो। बलात्कार मुद्दाका आरोपित शाहलाई इलाका प्रहरी कार्यालय गैंडाकोटमा राखेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यलय पूर्वी नवलपरासीका डिएसपी दिलिपकुमार गिरीले बताए।

उनले भने, ‘शाह विरुद्ध किशोरीले बलात्कारको उजुरी दिएकाले आवश्यक अनुसन्धानका लागि तनहुँ प्रहरीको समन्वयमा आज यहाँ ल्याएका छौं। अब प्रहरीले विभिन्न कोणबाट अनुसन्धानलाई अगाडि बढाउँछ। सरकारी वकिललाई राखेर उनीसँग बयान पनि लिन्छौं।’

किशोरीले दर्ता गराएको निवेदनमा एकै दिनमा सकिने छायांकनको काम दुई दिन लगाएर गैंडाकोटको होटलमा रक्सी खुवाएर बलात्कार गरेको आरोप लगाइएको छ।
 

फागुन २४, २०७८ मंगलबार १६:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।