दमौली आगलागी: क्षतिको विवरण सङ्कलन गर्न समिति गठन

तनहुँः आइतबार जिल्लाको व्यास–४ स्थित दमौली मुख्यचोकमा भएको आगलागीको क्षतिको विवरण सङ्कलनका लागि समिति गठन गरिएको छ। आगलागीबाट हार्डवेयरको गोदाम र व्यक्तिको घरमा भएको क्षतिको विवरण सङ्कलनका लागि व्यास नगरपालिकाले तीन सदस्यीय समिति गठन गरेको हो।
नगरपालिकाका घरनक्सा शाखाका प्रमुख इञ्जिनियर अमृत केसीको सञ्योजकत्वमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक कुमार गुरुङ र उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइका सचिव माधव न्यौपाने सदस्य रहेको समिति गठन गरिएको छ। गोदाम, व्यक्तिका घरलगायतमा भएको क्षतिको यथार्थ विवरण सङ्कलन गरी यही फागुन २६ गतेभित्र पेश गर्न समयावधि तोकिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताए।
आगलागीबाट भूपाल हार्डवेयर, ज्योति सप्लायर्स, बलराम राना, होमबहादुर गुरुङ, राममाया गुरुङ, लालबहादुर गुरुङ, चन्द्रमाया विक, दीपक श्रेष्ठको घरमा क्षति पुगेको छ। बिहान १० बजेदेखि सुरु भएको आगलागी दिउँसो २ बजे नियन्त्रणमा आएको थियो।
फागुन २४, २०७८ मंगलबार ०७:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।