युट्युबर र सामाजिक सञ्जाल प्रयोगकर्ताप्रति साइबर ब्युरो आक्रामक : २ जना हिरासतमा, २ दर्जन बढी निगरानीमा

युट्युबर र सामाजिक सञ्जाल प्रयोगकर्ताप्रति साइबर ब्युरो आक्रामक  : २ जना हिरासतमा,  २ दर्जन बढी निगरानीमा

काठमाडौँ : युट्युब लगायतका सामाजिक सञ्जालमार्फत पीडितलाई थप पीडा दिने गतिविधि बढेको भन्दै प्रहरीको साइबर ब्युरोले विद्धुतिय कारोबार कानुन अनुसारको निगरानी र पक्राउलाई तिब्र बनाएको छ। नाबालिगको बलात्कारको जाहेरीमा अभिनेता पल शाह पक्राउपछि सामाजिक टिकटक, फेसबुक, ट्विटरसँगै विशेष युट्युबमा नाबालिगको परिचय खुलाउने र चरित्रहत्या गर्ने क्रम बढेपछि ब्युरोले अनुसन्धानसँगै पक्राउकोक्रम समेत बढाएको छ।

प्रहरीले सोमबार मात्रै एक जना फेसबुक प्रयोगकर्ता र एक जना युट्युबवरलाई पक्राउ गरेर अदालतबाट पाँच दिनको म्याद लिएर हिरासतमा राखेको छ। ब्युरोमा प्रेस काउन्सिल नेपालबाट समेत युट्युबरहरुको सूची पुगेको छ भने ब्युरो आफैँले सामाजिक सञ्जाल र युट्युबको अनुगमन गरेर समेत सूची बनाएको छ। यी सबै गर्दा करिब २० जनाभन्दा धेरैमाथि ब्युरोले अनुसन्धान गरिरहेको छ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार पहिलो सूचीमा नाबालिगको चरित्र हत्या गर्नेहरू रहेका छन्। टिकटकदेखि फेसबुकसम्ममा नाबालिगको नाम उल्लेख गरेर अश्लील प्रतिक्रिया लेख्ने, युट्युबमा नाबालिगको परिचय खुलाउँदै उनीमाथि आरोप लगाउनेहरु अनुसन्धानको पहिलो सूचीमा छन्। यसमा अधिकांश फेसबुकका प्रयोगकर्तासँगै युट्युबर र टिकटक युजर समेत रहेका छन्।

नाबालिग बलात्कार जस्तो संवेदनशील विषयमा अभियन्ता हुँ भन्दै चरित्र हत्या हुने गरी अन्तर्वार्ता दिनेहरू पनि अनुसन्धानको पहिलो सूचीमा रहेको एक अधिकारीले जानकारी दिए।

दोस्रो सूचीमा नाबालिगको परिचय सार्वजनिक गर्न नहुने कानुनी प्रावधान उलङ्घन गर्नेहरू रहेका छन्। यसमा फेसबुक र टिकटक प्रयोगकर्ताहरू बढी छन्। केही स्थापित टेलिभिजन र कार्यक्रम सञ्चालकविरुद्ध पनि नाबालिगको परिचय सार्वजनिक गरेको भन्दै ब्युरोमा उनीहरूको कार्यक्रमको लिङ्क पुगेको छ।

तेस्रो सूचीमा सामाजिक सञ्जालहरूमा टिप्पणी गर्नेहरू रहेको एक अधिकारीले बताए। ' यो घटनाबारे प्रकाशित समाचारमा नाबालिगको चरित्र हत्या गर्ने गरी प्रतिक्रिया दिनेहरूका स्क्रिनसटहरु पनि आएका छन्। अहिले पहिलो प्राथमिकतामा नाबालिगबारे चरित्रहत्यामा सक्रिय देखिएकाको अनुसन्धान भइरहेको छ। अन्यबारे पनि छानबिन हुन्छ।'

ब्युरो स्रोतका अनुसार अधिकांश उजुरीहरू ब्युरोको इमेलमा आएको छ। ब्युरोले [email protected] मा आउने उजुरीहरूलाई समेत अनुसन्धानको दायरामा ल्याउने गरेको छ। केही सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले नेपाल प्रहरीको फेसबुक पेज र ट्विटर ह्यान्डलमा मेन्सन गर्दै गराएको ध्यानाकर्षणका सामाग्रीहरू समेत प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोमा पठाएको छ।

तेस्रोमा प्रेस काउन्सिल नेपाल र ब्युरोको टोलीको अनुगमनमा देखिएका र उजुरी परेकाहरुविरुद्ध अनुसन्धान केन्द्रित गरेको देखियो।

२ जना ब्युरोको हिरासतमा

नाबालिगको चरित्र हत्या गरेको आरोपमा साइबर ब्युरोले सोमबार राहुल थापा र दिपु भन्ने विकास महर्जनलाई पक्राउ गरेर अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाइसकेको छ।

नायिका रेखा थापाको पक्षबाट उनको दिदीले दिएको उजुरीको आधारमा राहुल पक्राउ परेका हुन्। उनले सेलेब्स नेपाल नामक युट्युबमा एक अन्तर्वार्ता राखेका थिए जसमा नायिका थापाको चरित्रहत्या भएको दाबी सहित उजुरी परेको थियो। महर्जनले सामाजिक सञ्जाल फेसबुकमा नाबालिगको चरित्र हत्या गरेको आरोपमा लागेको छ।

'कानुनै नाघेपछि कारबाही'

साइबर ब्युरोका  प्रवक्ता नवीन्द्र अर्याल कानुन विपरीत काम गर्नेहरू विरुद्ध प्रेस काउन्सिल नेपालबाट आएको पत्र, ब्युरोको आफ्नै अनुगमनमा कानुन विपरीत काममा संलग्न देखिएकाहरू र उजुरी परेकाहरूबारे ब्युरोले अनुसन्धान गरिरहेको बताए।

पीडित नाबालिगको परिचय खुलाउन नहुने, सामाजिक सञ्जालमार्फत कसैको चरित्र हत्या गर्न नहुने भन्ने कानुन भए पनि कतिले अज्ञानवश त कतिले जानाजान त्यस्तो गरेको फेला परेपछि अनुसन्धान प्रक्रिया अगाडि बढाएको र प्रमाणका आधारमा पक्राउ गरिएको बताउँदै उनले भने' युट्युब र सामाजिक सञ्जालमा सबै नराम्रो काम मात्र भएका छैनन्। उदाहरणीय काम पनि भएका छन्। तर कानुनले गर्न नहुने भनेर उल्लेख गरेका विषयहरू कसैले गर्छन् भने त त्यसबारे अनुसन्धान हुन्छ नै।'

उनले पछिल्लो समय उजुरी आउने क्रम बढेको जानकारी दिँदै आएका उजुरीका सम्बन्धनमा अनुसन्धान भइरहेको र कसैले कानुन विपरीत काम गरेको देखिए कानुन अनुसार अदालतबाट अनुमति लिएर अनुसन्धान गर्ने बताउँदै उकेरासँग भने' कसैलाई पक्राउ गर्नु हाम्रो रहर हैन। कानुन मानिदिनुस् भन्ने हाम्रो आग्रह हो। नमाने त कानुन अनुसार कारबाही हुन्छ नै। जो कानुनी परिधिभित्र बस्नुभएको छ उहाँहरू प्रहरीसँग डराउन आवश्यक छैन।'

फागुन २३, २०७८ सोमबार २१:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।