सेयरका साना लगानीकर्ताको पक्षमा देखिए धितोपत्र बोर्डका अध्यक्ष

सेयरका साना लगानीकर्ताको पक्षमा देखिए धितोपत्र बोर्डका अध्यक्ष

काठमाडौँ : धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेश हमालले अहिलेको व्यवस्था अनुसार कारोबार भएको दुई दिनपछि राफसाफ नभए ब्रोकरलाई कारबाही गर्ने चेतावनी दिएका छन्।

नियुक्तीपछि आयोजित पहिलो पत्रकार सम्मेलनमा उनले सेयर कारोबारमा टी प्लस टुमा सेटलमेन्ट भइसक्नु पर्ने व्यवस्था रहेकाले त्यो बेलासम्ममा सेटलमेन्ट गरिसक्न ब्रोकरहरूलाई निर्देशन दिए। समयभित्र सेटलमेन्ट नभए तत्काल कारबाही हुने उनको चेतावनी थियो।

साना लगानीकर्ताको पक्षमा काम गर्ने बताएका उनले साना लगानीकर्ता ठगिने अवस्था आउनु नहुने बताएका थिए। लगानीकर्ताले दिएको रकम ब्रोकरले अन्तै लगानी गर्न नहुने भन्दै सचेत गराएका थिए।

बुक बिल्डिङ विधिमार्फत आइपिओ जारी गर्ने अन्तर्राष्ट्रिय अभ्यास रहेको भन्दै उनले नेपालमा यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने दाबी गरेका थिए। धेरै नाफा गरेका कम्पनीहरू अङ्कित मूल्यमा नआउने र त्यसको लागि बुक बिल्डिङ विधि नै सबैभन्दा प्रभावकारी हुने उनको विश्लेषण देखियो।

धेरै नाफा कमाउने वास्तविक क्षेत्रका कम्पनीहरूलाई बुक बिल्डिङ विधिबाट आइपिओ जारी गर्न दिएर पुँजी बजारमा भित्र्याउने उनको दाबी थियो।

बजारमा हुने गरेका भित्री कारोबार लगायतका विकृति रोक्ने भन्दै उनले बजारलाई सहयोग पुग्ने गरी नयाँ नीति नियम र व्यवस्था गर्ने उनले बताए।

फागुन २३, २०७८ सोमबार १९:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।