नाबालिगको चरित्र हत्या गरेको आरोपमा यूट्युवर र फेसबुकका प्रयोगकर्ता पक्राउ, पाँच दिन हिरासतमा

नाबालिगको चरित्र हत्या गरेको आरोपमा यूट्युवर र फेसबुकका प्रयोगकर्ता पक्राउ, पाँच दिन हिरासतमा

काठमाडौँ : नाबालिगको चरित्र हत्या गरेको आरोपमा प्रहरीको साइबर ब्युरोले राहुल थापा र दिपु भन्ने विकास महर्जनलाई पक्राउ गरेको छ।

राहुललाई युट्युबमार्फत नाबालिगको चरित्र हत्या गरेको आरोपमा पक्राउ गरेको हो भने महर्जन सामाजिक सञ्जाल फेसबुकबाट चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका हुन्। दुवै विरुद्ध विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्ने म्याद लिएको ब्युरोका प्रवक्ता नवीन्द्र अर्यालले जानकारी दिए।

अभिनेता पल शाह नाबालिगको बलात्कारको आरोपमा पक्राउ परेपछि सामाजिक सञ्जालका प्रयोगकर्ता र अझ विशेष युट्युवरहरुले पीडितको गोपनीयता उलङ्घन गर्दै सामाग्रीहरू प्रसारण गरेका थिए।

केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरू पलको पक्षमा उभिँदै पीडित नाबालिगकाको चरित्र हत्यामा सक्रिय भएका थिए। ब्युरोका अनुसार थापा सेलेब्स नेपाल नामक युट्युबका सञ्चालक हुन्। उनले नाबालिग पीडितको मानमर्दन हुने सामाग्री प्रकाशन गरेको प्रहरीको दाबी छ।

महर्जनमाथि नाबालिगको अश्लील तस्बिर तथा स्ट्याटस फेसबुकमा अपलोड गरेर नाबालिगको चरित्र हत्या गरेको आरोप लगाइएको छ। प्रहरीले विभिन्न युट्युबमा पलको पक्षमा अन्तर्वार्ता दिँदै नाबालिगको चरित्रमाथि प्रश्न उठाउने र नाबालिगको पक्षमा देखिएका कलाकारहरूको चरित्र हत्या गरेको आरोपमा शर्मिला वाइबालाई समेत नियन्त्रणमा लिएको छ। तर उनीबारे भने ब्युरोले आधिकारिक रूपमा केही बोलेको छैन।

प्रहरीले आधा दर्जन युट्युबहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

फागुन २३, २०७८ सोमबार १६:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।