कांग्रेस सर्लाहीको निर्वाचन स्थगित

सर्लाहीः नेपाली कांग्रेस सर्लाही जिल्ला समितिको निर्वाचन स्थगित भएको छ। आन्तरिक विवादका कारण सोमबारका लागि तय भएको निर्वाचन अनिश्चितकालका लागि स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ।
विशेष परिस्थितिका कारण निर्वाचन गराउन नसकिएको भन्दै अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि निर्वाचन स्थगित गरिएको निर्वाचन अधिकृत नागेश्वरप्रसाद सिंहले जानकारी दिए। उनका अनुसार आज बिहान ९ बजेदेखि सुरु हुने भनिएको निर्वाचन दिउँसो १ः१५ बजे सूचना टाँसेर स्थगित गरिएको हो।
निर्वाचन स्थगित भएपछि मतदानस्थलबाहिर कांग्रेसका स्थानीय नेता कार्यकर्ताले नाराबाजी गरेका थिए। आज हुने भनिएको निर्वाचनका लागि सर्लाहीका २० स्थानीय निकायका २०० वडाबाट छानिएका क्षेत्रीय प्रतिनिधि मतदानस्थलमा पुगेका थिए।
कांग्रेस सर्लाहीको सभापतिमा संस्थापन पक्षबाट सुरेन्द्रप्रसाद सिंह र इतर पक्षबाट लक्ष्मण रायको प्यानल चुनावी मैदानमा छन्।
फागुन २३, २०७८ सोमबार १६:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।