टिकटक बनाउनेहरूका लागि पर्वतमा 'ग्लास स्काइब्रिज' सञ्चालन

टिकटक बनाउनेहरूका लागि पर्वतमा 'ग्लास स्काइब्रिज' सञ्चालन

पोखराः पर्वतमा सिसाको पुल (ग्लास स्काइब्रिज) सञ्चालनमा आएको छ। नेपालमै पहिलो पटक पर्वत कुश्मास्थित कालीगण्डकी नदीको खोँचमा निर्माण गरिएको सिसाको पुल सोमबार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गरेका छन्।

टिकटक पारखीहरूका लागि लक्षित गरेर नेपालमै पहिलो पटक स्काईब्रिज निर्माण गरिएको कम्पनीका निर्देशक राजकुमार बस्नेतले जानकारी दिए। हार्नेस जिपलाइन प्रालि कुश्माले निर्माण गरेको उक्त पुलबाट मनोरम दृष्यावलोकन गर्न सकिने निर्देशक बस्नेतले बताए।

‘कुश्मास्थित कालीगण्डकी खोँचमा विभिन्न साहसिक पर्यटकीय गतिविधि सञ्चालनमा ल्याउने क्रममा हामीले नेपालमै पहिलो सिसाको पुल निर्माण गरेका हौं’, उनले भने, ‘पछिल्लो समय टिकटक बनाउन युवा पुस्ता लालयित देखिएकाले उनीहरूलाई आकर्षित गर्न स्काइब्रिज बनाएका हौं।’

निर्देशक बस्नेतका अनुसार एकैपटकमा एक सय जनासम्मले स्काइब्रिजको मजा लिन सक्नेछन्। पुलको लम्बाइ ३५ फिट र चौडाइ ११ फिट रहेको छ। स्काइब्रिजमा नाच्न, गाउन पनि मिल्नेछ। स्काइब्रिज विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन र अग्लो बञ्जीसँगै रहेको छ।

कम्पनीले त्यसै ठाउँमा आइतबारदेखि पहिलो पटक सञ्चालनमा ल्याएको जोइन्ट स्विङमा पहिलो दिनमा २० जोडीले खेलेको बस्नेतले बताए। कम्पनीले यसअघि विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन पनि सञ्चालनमा ल्याएको छ।

साहसिक पर्यटकीय गतिविधि सुरु गरेपछि देशका विभिन्न भागबाट आन्तरिक पर्यटक आउने थालेको बस्नेतले बताए। कम्पनीले जिपलाइनका लागि ३५ सय रुपैयाँ शुल्क तोकेको छ। २५० मिटरको उचाइबाट सुरु हुने जिपलाइनको सुरुआती गति प्रतिघण्टा १३० किलोमिटरसम्म पुग्ने गरेको छ।

फागुन २३, २०७८ सोमबार १३:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।