पदाधिकारी चयन नै नगरी सकिँदै माओवादी केन्द्रीय कमिटी बैठक

काठमाडौंः नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठक पदाधिकारी चयन नै नगरी टुंगिने भएको छ। आइतबार अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निवास खुमलटारमा बसेको पूर्वपदाधिकारी बैठकमा पदाधिकारी स्थानीय चुनावपछि मात्र छनोट गर्ने सहमति भएको थियो।
पार्टी स्थानीय चुनावमा केन्द्रित हुनुपर्ने भएकोले पदाधिकारी चयनलगायतका विषय बाँकी रहने नेता देव गुरुङले जानकारी दिए। 'अब हामी चुनावी अभियानमा लाग्नुपर्नेछ। चुनावपछि नै बस्नै बैठकले पदाधिकारी टुंग्याउँनेछ', गुरुङले भने।
माओवादीको महासचिव छनोट गर्न गाह्रो पर्ने देखिएपछि पदाधिकारी चयन अहिले नहुने भएको हो। वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल र देव गुरुङले महासचिवका लागि दावी गरिरहेका छन्। तीमध्ये वर्षमान र जनार्दनलाई प्रमुख दाबेदारका रूपमा हेरिएको छ।
प्रचण्डले सरकारमा अर्थमन्त्रीको रूपमा पुनलाई पठाउने र शर्मालाई पार्टीको जिम्मेवारी दिने प्रस्ताव गरे पनि सहमति हुन सकेको छैन। आजको बैठकमा स्थानीय चुनावमा पार्टीको रणनीति, केन्द्रीय सदस्य मनोनयन लगायतका विषयमा छलफल हुनेछ।
फागुन २३, २०७८ सोमबार १३:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।