नेपाल एयरलाइन्सको उडान अब साउदीमा पनि

काठमाडौंः नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले साउदी अरेबियामा पनि उडान भर्ने भएको छ। एयरलाइन्सलाई साउदीको रियाद, दमाम र जेद्दामा उडानको अनुमति प्रदान गरिएको छ।
नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार निगमलाई साउदी अरेबियाको नागरिक उड्डयन कार्यालय जेनरल अथोरीटी अफ सिभिल एभिएसन्स् रियादले त्यहाँका तीन वटा शहरमा दुईतर्फी उडानको अनुमति दिएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको पहलमा सो उडान अनुमति प्राप्त भएको बताइएको छ। निगमले चैतदेखि पहिलो चरणमा काठमाडौं–रियाद–काठमाडौं सातामा तीन दिन उडान गर्ने जानकारी गराएको छ।
यसअघि साउदीमा हिमालय एयरलायन्सले दमाम र रियादमा नियमित उडान गर्दै आइरहेको छ। साउदी अरबले यसअघि निगमलाई सन् २००२ र सन् २०२० मा पनि उडान अनुमति दिएको थियो तर जहाज अभाव र कमजोर व्यवस्थापनका कारण निगम साउदी जान सकिरहेको थिएन।
निगम साउदी नगएकै कारण त्यसताका गल्फ एयरले नेपाली कामदारलाई बहराइन हुँदै साउदी अरेबिया ल्याउने/लैजाने गर्न थालेको हो।
फागुन २३, २०७८ सोमबार १०:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।