नयाँ प्रशासकीय भवन बनाउँदै भरतपुर महानगर

नयाँ प्रशासकीय भवन बनाउँदै भरतपुर महानगर

चितवनः भरतपुर महानगरपालिकाले नयाँ प्रशासनिक भवन बनाउने भएको छ। सङ्घीय र प्रदेश सरकारसँग बजेटको सुनिश्चितता गरेर भवन निर्माणको प्रक्रिया अघि बढाइएको छ।

महानगरले रु ९४ करोड ३२ लाख ३० हजार दुई सय ७१ अनुमानित लागतमा बोलपत्र आह्वान गरेको छ। यसका लागि सङ्घीय सरकारबाट रु ३५ करोड र बागमती प्रदेश सरकारबाट ठेक्का कबोल मूल्यको ५० प्रतिशत रकम सुनिश्चितता भइसकेको छ।

रकम नपुग भएमा महानगरपालिकाले थप गर्नेछ। भूमिगत (अण्डरग्राउण्ड) पार्किङसहितको भवन १४ हजार एक सय ५२ वर्गमिटरको हुनेछ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीका अनुसार भवन ३० महिनाभित्र सम्पन्न गर्नेगरी बोलपत्र आह्वान गरिएको हो। भवनको भूमिगत तलामा ५० कार र दुई सय ५० वटा मोटरसाइकल पार्किङ गर्न सकिने छ। दुई बिघा १३ कठ्ठा १६ धुर जमिन रहेको क्षेत्रमा भवनबाहिर पनि पार्किङ र बगैँचा निर्माण गर्न ठाउँ रहने गरी भवन बनाउन लागिएको उनको भनाइ छ।

भवनका हरेक तलामा अपाङ्गमैत्री शौचालयसहित प्रत्येक तलामा पुरुष र महिलाका लागि अलग्गै शौचालय रहने छ। पूर्णअपाङ्गमैत्री सो भवनले आउँदो ६० वर्षसम्म सेवा दिन सक्ने गरी नक्साङ्कन गरिएको सुवेदीले बताए। हाल महानगरमा तीन लाख ६९ हजार जनसङ्ख्या रहेको छ।

फागुन २३, २०७८ सोमबार ०९:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।