कांग्रेस-एमालेद्वारा आगलागी पीडितलाई राहत उपलब्ध गराउन माग

कांग्रेस-एमालेद्वारा आगलागी पीडितलाई राहत उपलब्ध गराउन माग

तनहुँः जिल्लाको व्यास नगरपालिका–४ दमौलीमा आइतबार भएको भीषण आगलागीबाट पीडित भएकालाई राहत उपलब्ध गराउन नेपाली कांग्रेस र नेकपा (एमाले) तनहुँले सरकारसँग माग गरेका छन्। आगलागीबाट घरमा क्षति भएकालाई उचित राहत उपलब्ध गराउन ती दुई पार्टीले सरकारसँग माग गरेका हुन्। 

कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले एक विज्ञप्ति जारी गर्दै भूपाल हार्डवेयर र ज्योति जनरल सप्लायर्स र त्यस आसपासका अन्य व्यावसायिक तथा घरमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उचित राहतको माग गरेका हुन्। “भीषण आगलागी नियन्त्रणका लागि सहयोग पुर्याउने सबैप्रति कृतज्ञता व्यक्त गर्दै क्षतिको यथार्थ मूल्याङ्कन गरी क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दछौँ', विज्ञप्तिमा भनिएको छ।

यस्तै एमाले तनहुँले पनि आगलागीबाट पीडित भएकालाई राहत उपलब्ध गराउन माग गरेको छ। एमाले जिल्ला उपसचिव प्रदीपराज अधिकारीले दुःखको घडीमा सहानुभूति प्रकट गर्दै क्षतिको यकिन मूल्याङ्कन गरी पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेका हुन्।

आइतबार बिहान १० बजेदेखि लागेको आगो दिउँसो २ बजे पूर्णरुपमा नियन्त्रणमा आएको थियो। आगलागीबाट करोडौं क्षति भएको प्रारम्भिक अनुमान छ। क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। 

फागुन २३, २०७८ सोमबार ०७:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।