विमानस्थलको तार नाघेर भिसाबिना जहाजसम्म व्यक्ति पुगेको घटनाको प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

काठमाडौँ : पासपोर्ट नभई त्रिभुवन विमानस्थलको तार नाघेर विमानस्थलको धावनमार्गमा रहेको प्लेन चढ्न पुगेको घटनाबारे छानबिन गर्न गठन भएको समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ। फागुन नौ गते राति हवाईजहाजको टिकट र भिसा नभएको व्यक्ति विमानस्थलभित्र छिरेर जहाजसम्म पुगेका थिए।
विमानस्थलबाट कतारको दोहा उडानका लागि तयार भएको नेपाल एयरलाइन्सको विमानमा पासपोर्ट र भिसा नभएको एक व्यक्ति पुगेको घटनाको सम्बन्धमा छानबिन गर्न गठित समितिले आइतबार गृहमन्त्री खाँणलाई प्रतिवेदन बुझाएको हो।
समितिका संयोजक अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले गृह मन्त्रालयमा खाँणलाई प्रतिवेदन दिएका हुन्। गृहमन्त्रीस्तरीय निर्णयबाट फागुन १३ गते समिति गठन भएको विमानस्थल सुरक्षा अवस्था तथा सुधारका उपायहरू सम्बन्धमा सिफारिस गर्न भन्दै समिति गठन भएको थियो ।
समितिमा महासेनानी अनुप अधिकारी, प्रहरी उपरीक्षक वेद विष्ट, कामु सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किरण बस्नेत, उप–अनुसन्धान निर्देशक विष्णमणि आचार्य, हवाई सुरक्षा निर्देशक वासुदेव भट्टराई, नेपाल बायु सेवा निगमका निर्देशक अनिल घिमिरे, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल तथा गृह मन्त्रालयका उपसचिव गोमा चेम्जोङ सदस्य थिए।
प्रतिवेदन बुझ्दै गृहमन्त्री खाँणले रिपोर्ट कार्यान्वयनको प्रक्रिया अगाडि बढाउने बताए।
अन्तर्राष्ट्रिय विमानस्थलको हालत : तार नाघेर कतार उड्ने जहाज चढेका थिए आलम
‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न निकायको तालमेल हुन्छ। तसर्थ कार्यान्वयनका लागि सबै निकायको तालमेल चाहिन्छ,’ गृहमन्त्री खाँणले भने, ‘सबैसँगको तालमेलमा रिपोर्ट कार्यान्वयनको प्रक्रिया अगाडि बढ्छ।’
उनले विमानस्थलभित्र नागरिक छिरेर जहाजमै पुग्नु संवेदनशील भएको भन्दै त्यो घटना कसरी भएको हो ? कसको कमजोरीले भएको हो ? पर्यटन, अर्थसहितको सल्लाहमा दोषीलाई कारबाहीको प्रक्रिया अगाडि बढाउने बताए।
राष्ट्रको सुरक्षा सबैको मूल दायित्व भएको भन्दै अझ अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा झनै संवेदनशील भएको उनले बताए। उनले यो काम गाह्रो भए पनि सबै मिलेर गर्नै गर्ने बताए।
प्रतिवेदन बुझाउँदै अध्यागमन विभागका महानिर्देशक तथा समितिका संयोजक भट्टराईले आफूहरूले प्रहरी प्रतिवेदन, अभियुक्तलाई विमानस्थलमै पुर्याएर लिएको जानकारी तथा सिसिटिभी फुटेजका आधारमा प्रतिवेदन तयार पारिएको जानकारी दिए।
फागुन २२, २०७८ आइतबार २१:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।