चार करोड मुद्दती खातामा राख्ने प्रकाशचन्द्र पाँच पटक मन्त्री भइसकेका नेता हुन्

चार करोड मुद्दती खातामा राख्ने प्रकाशचन्द्र पाँच पटक मन्त्री भइसकेका नेता हुन्

काठमाडौँ : ग्लोबल आइएमई बैङ्कमा वार्षिक १२ प्रतिशत ब्याजदरमा ४ करोड रकम मुद्दती निक्षेपमा राखेको भुलवश सार्वजनिक भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा प्रकाशचन्द्र लोहनीको सम्पत्तिको स्रोतबारे बहस सुरु भएको छ।

बैङ्कमा रहेको उनको मुद्दती रकम उनी आफैँले झुक्किएर सार्वजनिक गरेका हुन्। सो मुद्दती रकमबापत उनले मासिक ब्याज ४ लाख १० हजार पाउँछन्। मुद्दती खाता खोल्ने र बैङ्कले ब्याज दिने दुईपक्षविचको सहमतिमा हुने भए पनि डा लोहनी पटक-पटक सार्वजनिक पदमा रहेकाले उनको सो रकमको स्रोतबारे चासो बढाएको छ।

अख्तियारका प्रवक्ता अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले उकेरासँग सामाजिक सञ्जालमा आएका विषयहरूमा पनि आयोगको ध्यानाकर्षण हुने भन्दै डा लोहनीको मौज्दात रकमबारे नियमानुसार अनुसन्धानको प्रक्रिया अगाडि बढ्ने बताएका छन्।

उनले इण्डियाना विश्वविद्यालय अमेरिकाबाट एमबिए र अमेरिकाकै युनिभर्सिटी अफ क्यालिफोर्निया लसएञ्जल्सबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्।

पञ्चायतकालदेखी नै सक्रिय राजनीतिमा लागेका डा लोहनी अर्थशास्त्री हुन्। उनी सक्रिय राजनीतिकोको क्रममा अर्थ, परराष्ट्र, कृषि, श्रम तथा यातायात, भौतिक योजना तथा निर्माण मन्त्री भइसकेका छन्। उनी जुन-जुन मन्त्रालयको नेतृत्वमा पुगे ती सबै अतिरिक्त आम्दानीमा बदनाम मन्त्रालयहरू हुन्।

नेता लोहनीको चार करोड डिपोजिट अख्तियारको नोटिसमा, स्रोतबारे प्रक्रिया अगाडि बढाउने

ग्लोबल आइएमई बैङ्कमा नेता प्रकाशचन्द्रको चार करोड डिपोजिट, यसरी सार्वजनिक भयो रकम

नुवाकोटको थानासिङ्ग गाविस वडा नम्बर ३ स्थायी ठेगाना भएका लोहनी अहिले काठमाडौँको धुम्बाराहीमा बस्दै आएका छन्। उनी पटक-पटक सांसद समेत भएका थिए।

सग्लो राप्रपा रहेसम्म राजनीतिमा सक्रिय रहँदै आएका उनी राप्रपा विभाजनसँगै अलग्गै पार्टी खोलेर सक्रिय थिए। पछि पशुपति शमशेर राणासँग एकतासँगै राप्रपा नेपालसँग एकता गरेर पनि मिल्न नसकेका उनी पछिल्लो एकता महाधिवेशनमा अध्यक्षको प्रत्याशी बन्ने दाबी गरे पनि पछि उनले राजेन्द्र लिङदेनलाई अध्यक्षमा समर्थन गरेका थिए।

उनी संविधान सभा सदस्य समेत भइसकेका छन्। पछिल्लो समय भने उनी सक्रिय राजनीतिबाट टाढा हुँदै गएका छन्।

फागुन २२, २०७८ आइतबार १९:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।