नेता लोहनीको चार करोड डिपोजिट अख्तियारको नोटिसमा, स्रोतबारे प्रक्रिया अगाडि बढाउने

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा प्रकाशचन्द्र लोहनीको ग्लोबल आइएमई बैङ्कको मुद्दती खातामा रहेको चार करोड रुपैंयाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएको छ।
पटक-पटक सार्वजनिक पद धारण गरेका लोहनी आफैँले झुक्किएर आफ्नो फेसबुकमा रकम जम्मा गरेको पत्र राखेर पछि हटाएका थिए। सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्तिको स्रोतबारे अख्तियारले जुनसुकै बेलामा छानबिन गर्न सक्ने भएकाले उसले सो विवरणलाई नोटिसमा लिएर छानबिन अगाडि बढाउने भएको हो।
अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले सामाजिक सञ्जालमा आएका विषयहरूमा पनि आयोगको ध्यानाकर्षण हुने भन्दै डा लोहनीको मौज्दात रकम जानकारीमा आएकाले नियमानुसार अनुसन्धानको प्रक्रिया अगाडि बढ्ने बताए।
'सबै विषयमा हाम्रो दृष्टि नपुग्न सक्छ। तर सामाजिक सञ्जालमा आएको विषयमा पनि हाम्रो ध्यानाकर्षण हुन्छ,' उनले उकेरासँग भने'हामीसम्म सूचना आउन पर्यो। सूचना आएपछि कानुनी रूपमा अघि बढ्छ।'
ग्लोबल आइएमई बैङ्कमा नेता प्रकाशचन्द्रको चार करोड डिपोजिट, यसरी सार्वजनिक भयो रकम
उनले रकमको स्रोतबारे छानबिन लगायत अनुगमन गर्ने बताए। उनले सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्तिबारे कसैले जानकारी पाए अख्तियारको फोन या अनलाइनबाटै पनि जानकारी दिन सक्ने भन्दै यसबारे आयोगले प्रक्रिया अगाडि बढाउने बताए।
आइतबार डा लोहनीले नै आइएमई ग्लोबल बैंकको सुन्धारा शाखामा फेब्रुअरी २७ मा चार करोड रकम मुद्दती खातामा राखेको पत्र फेसबुकमा राखेका थिए। पछि उनले सो फोटो हटाए।
सोबारे लोहनीसँग जिज्ञासा राख्दा उनले उकेरासँग भने 'प्रकाशचन्द्र गरिब रैन्छ भन्ने म्यासेज गएछ होइन ? कसले राख्छ मेरो यति छ भन्दै त्यसरी? त्यो भन्दा पनि बढी हुन सक्छ। सोध्दै नसोधी के भयो भनेर टिप्पणी गर्न पनि भएन नि।'
फागुन २२, २०७८ आइतबार १९:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।