ग्लोबल आइएमई बैङ्कमा नेता प्रकाशचन्द्रको चार करोड डिपोजिट, यसरी सार्वजनिक भयो रकम

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनीको नाममा ग्लोबल आइएमई बैङ्कमा चार करोड डिपोजिट रहेको खुलेको छ। लामो समय राजनीतिमा सक्रिय र पटक-पटक मन्त्री भएका लोहनीले सो बैङ्कमा वार्षिक १२ दशमलव ०३ प्रतिशत ब्याज पाउने गरी हालै चार करोड फिक्स डिपोजिटमा राखेका हुन्।
उनले २ वर्षका लागि फेब्रुअरी २७ मा चार करोड रकम मुद्दती खातामा राखेका हुन्। सोबारे लोहनीसँग जिज्ञासा राख्दा उनले उकेरासँग भने 'प्रकाशचन्द्र गरिब रैन्छ भन्ने म्यासेज गएछ होइन ? कसले राख्छ मेरो यति छ भन्दै त्यसरी? त्यो भन्दा पनि बढी हुन सक्छ। सोध्दै नसोधी के भयो भनेर टिप्पणी गर्न पनि भएन नि।'
कसरी खुल्यो मुद्दती रकम ?
आइतबार प्रकाशचन्द्र लोहनीको फेसबुक अकाउन्टमा एकाएक डिपोजिट बापत बैङ्कले धन्यवाद दिएको पत्र सार्वजनिक भएपछि उनको सो बैङ्कमा रहेको रकम खुलेको हो। उनकै फेसबुक अकाउन्टमा तस्बिर सार्वजनिक भएको केही समयमै डिलिट भएको थियो। उनले उकेरासँग आफ्नै फेसबुकमा तस्बिर आएकोबारे भने 'मैले सब फोटो खिचेर राख्ने गरेको छु। बाइ मिस्टेकले गएको हो।'
उनले बैङ्कमा रहेको मौज्दातको विवरण व्यक्तिगत गोपनीयताको विषय भएको भन्दै सार्वजनिक नगर्न भनेका थिए। अहिले लोहनी कुनै सार्वजनिक पदमा छैनन्। तर उनी लामो समय सार्वजनिक पद धारण गरिसकेका व्यक्ति हुन्। सार्वजनिक पदमा रहेका व्यक्तिको सम्पत्तिको स्रोतबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न चाहे छानबिन गर्न सक्छ। उनी पटक-पटक सार्वजनिक पदमा रहेकाले उनको सम्पत्ति सार्वजनिक चासोको विषय समेत भएकाले आवश्यक विवरण गोप्य राखेर डिपोजिट स्लिप भने उकेराले राखेको छ।
फागुन २२, २०७८ आइतबार १८:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।