कांग्रेस अधिवेशन: मत बराबर भएपछि आलोपालो क्षेत्रीय सभापति बन्ने सहमति

कांग्रेस अधिवेशन: मत बराबर भएपछि आलोपालो क्षेत्रीय सभापति बन्ने सहमति

नवलपरासीपूर्वः जिल्लाको निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसको सभापति पदमा बराबर मत ल्याएपछि दुवै उम्मेदवारले दुई–दुई वर्ष सभापति बन्ने सहमति गरेका छन्। कांग्रेस नवलपुरका जिल्ला सभापति महेन्द्रध्वज जिसीका अनुसार जगत कार्की पहिलो दुई वर्ष तथा सूर्य गुरुङ पछिल्लो दुई वर्ष सभापति बन्ने सहमति भएको हो।

कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत तीन महिनाअघि भएको क्षेत्रीय सभापतिको निर्वाचनमा दुवै उम्मेदवारले बराबर मत ल्याएका थिए। मत बराबरी भएपछि गोलाप्रथा गर्न उम्मेदवारहरू राजी नहुँदा सभापतिको टुङ्गो लाग्न सकेको थिएन।

मतदानमा क्षेत्रीय सभापतिका उम्मेदवार गुरुङ र कार्कीले समान ३९४ मत प्राप्त गरेका थिए।

यसैबीच नेपाली कांग्रेस नवलपुरको सहमति नभएका पदमा आज मतदान हुने भएको छ। सहमति नभएका पदमा अहिले बिहान ९ बजेदेखि मतदान प्रक्रिया सुरू गरिएको निर्वाचन अधिकृत गोविन्द सिग्देलले बताए। यसअघि जिल्ला सभापतिमा महेन्द्रध्वज जिसी निर्विरोध चयन भइसकेका छन्।

फागुन २२, २०७८ आइतबार १०:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।