गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै गृहमन्त्रीले भने, 'सुरक्षा निकायको व्यवस्थामा कमी हुँदैन'

बुटवलः गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन्। खाँणले शनिबार साँझ विमानस्थलको निरीक्षण गर्दै विमानमा सुरक्षा निकायको व्यवस्थामा कमी हुन नदिने बताए।
निरीक्षणका क्रममा उनले मुलुकको समृद्धि र पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि यसले ठूलो भूमिका खेल्ने बताए। विमानस्थलले लुम्बिनी प्रदेशका साथै मुलुककै विकासमा नयाँ उँचाइ थपेको उनको भनाइ छ।
यसैबीच गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन ६ गतेदेखि सुरु गरिएको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सकिएको छ।
थाइल्याण्डबाट ल्याइएको एरो थाईको विशेष विमानबाट यान्त्रिक परीक्षण उडान गरिएको हो। त्यसक्रममा उडान भरेको विमानको दूरी जाँच, उडान भरेको विमानले प्रयोग गर्ने रूटको जाँच, उडान भर्दा र अवतरण गर्दा धावनमार्गमा जडान गरिएको लाइटिङ लगायतका परीक्षणहरू गरिएको छ।
थाइल्याण्डको पाइलटसहितको प्राविधिक टोलीले नौ दिनसम्म यान्त्रिक उडान गरेर सञ्चारलगायत उपकरणहरूको जाँच गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताए। उनका अनुसार यान्त्रिक उडानको प्रारम्भिक रिपोर्टमा विमानस्थलमा जडान भएका सञ्चार लगायतका उपकरणहरू ठीक पाइएको छ।
फागुन २२, २०७८ आइतबार ०८:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।