ओलीको सुझाव: प्रदेश नं १ को नाम 'कोशी' राख्दा उपयुक्त हुन्छ

झापाः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १ को नाम कोशी राख्दा उपयुक्त हुने सुझाव दिएका छन्। प्रेस चौतारी नेपाल प्रदेश नं १ को आज विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले मानव सभ्यताभन्दा पहिले नै कोशी नदीको उत्पत्ति भएका कारण प्रदेश नं १ को नाम ‘कोशी प्रदेश’ राख्दा उपयुक्त हुने सुझाव दिएका हुन्।
ओलीले भने, “कोशीले पुरानो सभ्यता र परम्परा बोकेका छ। यहाँका धर्म, ज्ञान, संस्कृति, सभ्यता र परम्परा योसँग जोडिएका छन्। जातजाति पछि आएका हुन्। जातीय पहिचानको आधारभन्दा सभ्यताको पहिचान नै उपयुक्त र साझा हुन्छ, त्यसैले कुनै भ्रममा नपरी प्रदेशको नामाकरण कोशी गर्दा हुन्छ।”
उनले सोही अवसरमा वर्तमान गठबन्धनमध्येका कसैले पनि आउँदो निर्वाचनमा एमालेसँग एक्लै मैदानमा आउने आँट नगरेको उल्लेख गर्दै नेपाली कांग्रेस एमालेसँग लड्ने पाँच घटकमध्ये एक भएको पनि बताए। लोकतन्त्रका निम्ति लामो सङ्घर्ष गरेको कांग्रेसले दक्षिणपन्थीको वैशाखी टेक्नु दुःखद् भएको पनि उनको आरोप थियो।
प्रेस चौतारीको अधिवेशनलाई उद्घाटन गर्नुअघि ओलीले अर्जुनधारा नगरपालिकामा रहेका पाँच शहीद रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुईंकेल र नारायण श्रेष्ठको सालिकमा माल्यार्पण समेत गरेका थिए।
फागुन २१, २०७८ शनिबार १४:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।