मस्जिदमा ५८ जनाको ज्यान जानेगरी भएको विस्फोटको संयुक्त राष्ट्रसंघका प्रमुखद्वारा निन्दा

एजेन्सीः संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार पाकिस्तानको पेशावर शहरमा ५८ जनाको मृत्यु हुनेगरी भएको आत्मघाती विस्फोटको निन्दा गरेका छन्। शुक्रबार शिया मस्जिदमा भएको विस्फोटमा ५८ जनाको मृत्यु भएको थियो भने एक सय ९४ जना घाइते भएका थिए।
"प्रार्थनागृहरू आश्रयस्थल हुनुपर्छ, आक्रमणको निशाना होइन। म पाकिस्तानको पेशावरको मस्जिदमा शुक्रबारको नमाजको क्रममा भएको भयानक र दुखद् आक्रमणको निन्दा गर्दछु। आफ्ना प्रियजनहरू गुमाउनेप्रति मेरो समवेदना र पाकिस्तानका जनताप्रति मेरो ऐक्यबद्धता छ", उनले भने।
घटनालाई आत्मघाती हमला भन्दै शहरका अधिकारीहरूले सुरुमा दुई जना आक्रमणकारी संलग्न रहेको बताएका थिए। यद्यपि, पछि सार्वजनिक गरिएको सीसीटीभी फुटेजले एक्लो आक्रमणकारी शहरको किस्सा ख्वानी बजारमा रहेको मस्जिदमा पैदल प्रवेश गरेको र पेस्तोल बोकेको देखाइएको डन अखबारले रिपोर्ट गरेको छ।
फागुन २१, २०७८ शनिबार १२:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।